नीलडेभिडको ड्रिम सलून दिल्लीमा

पुरा हुँदैछ डेढ दशकअघिको सपना

अरुणा भट्टराई–
काठमाडौं–सेलिब्रेटि हेयर स्टाइलिस नीलडेभिड कटवाल यतिबेला आफ्नो सपना पुरा गर्ने अन्तिम तयारीमा छन् । यही जुलाई १ अर्थात असार १७ गते आईतबारका दिन उनले वर्षौदेखि देखेको एउटा सपना पुरा हुँदैछ । हो, उक्त दिन लक्ष्मीपुर, झापामा जन्मिएका नेपाली हेयर स्टाइलिस नीलडेभिडको नयाँ सलून भारतको राजधानी नयाँ दिल्लीको ग्रेटर कैलाश जिके टु एम ब्लक मार्केटमा सञ्चालनमा आउँदैछ ।
झण्डै १८ सय स्क्वायर फिटमा फैलिएको उक्त सलून यतिबेला सञ्चालनको अन्तिम चरणमा छ । ‘इन्टेरियरको काम हुँदैछ, कलाकर्मी डटकमसंगको पछिल्लो कुराकानीमा नील डेभिडले भने–‘करिव दश दिनमा सलून पूर्ण रुपले तयार हुनेछ ।’ नीलडेभिडले यसपटक आफ्नो भव्य सलूनको उद्घाटनका लागि बलिउड सेलिब्रेटीलाई आमन्त्रण गर्न सक्ने संकेत गरेका छन् । ‘एक जना बलिउड अभिनेत्री आउने सम्भावना प्रवल छ, नीलडेभिडका अनुसार केही दिनमै प्रमुख अतिथिको टुंगो लाग्नेछ ।’
नीलडेभिड कटवालले झापाको लक्ष्मीपुरबाट फेसनको दुनियाँमा यात्रा गर्दै दिल्ली, थाइल्याण्ड, सिंगापुर तथा लण्डनसम्म पुगेर हेयर एण्ड मेकअपको प्रशिक्षण लिएका थिए ।
काठमाडौंको काठमाडौं मलमा सन् २००६ को जून ९ का दिन ३ सय स्क्वायर फिटबाट प्रारम्भ भएको नीलडेभिड्स सलून नेपालहुँदै भारतमा समेत स्थापित हुँदैछ । त्यसकारण पनि नीलडेभिड्स सलून नेपाली ब्राण्डको सलून भनेर भारतमा भारतीय लगानीकर्ताहरुले नीलडेभिड्सको फ्रेन्चाइजहरु लिइरहेका छन् ।
भारतकै सिलीगुडीमा नीलडेभिड्सका पाँच वटा सलूनहरु सञ्चालनमा छन् भने दार्जीलिङ, कालिङपोङ, गुवाहाटी, कोलकाता, दुर्गापुर, झारखण्ड, उत्तर प्रदेशको अलाहाबाद तथा आजमगढमा पनि नीलडेभिड्सका फ्रेन्चाइस सलूनहरु सञ्चालनमा छन् ।
दिल्लीमा सञ्चालन हुन लागेको नयाँ सलूनका लागि नीलडेभिड्स परिवारलाई शुभकामना ।