विराटनगरकी मोडल समिक्षा

१९ वर्षीया समिक्षा अधिकारीले यसै साता विराटनगरमा सम्पन्न मिस विराटनगरमा मिस पर्सनालिटी तथा मिस पब्लिक च्वाइसको उपाधि जितेकी छिन् । एक महिना लामो प्रशिक्षणका क्रममा मोडलिङ सम्बन्धि प्रसस्त ज्ञान हासिल गरेकी पाच फिट ६ ईन्च अग्ली समिक्षाले त्यस अवघिमा ठूलो समुदायमा बोल्न, मेकअप गर्न तथा सामान्य जीवनमा सिक्न नपाइने कुरा सिक्न पाउनुलाई ठूलो उपलब्धि मानेकी छिन् । आकर्षक व्यक्तित्वकी धनी समिक्षाले प्रतियोगिताका क्रममा एउटा उत्कृष्ट मोडलको झलक प्रस्तुत गर्न सफल भएको दावी गरेकी छिन्, यद्धपि उनी प्रतियोगिताको उत्कृष्ट पाचमा भने पर्न सकिनन् ।


सानैदेखि नृत्यमा पारंगत समिक्षा राजवंशी चौक, विराटनगरकी स्थायी वासिन्दा हुन् । व्यवस्थापन संकायमा कक्ष १२ मा अध्ययरत समिक्षाको नृत्यको प्रसंसा नगर्ने विराटनगरमा कमै छन् । मोरङ जिल्लास्तरीय नृत्य प्रतियोगितामा विजेता बन्दै आएकी समिक्षाले केही वर्षअघि पूर्वाञ्चलव्यापी नृत्य प्रतियोगितामा समेत चौथो स्थान हासिल गरेकी थिइन् । समिक्षालाई आफैंले नृत्य गरेका भिडियोहरु खिचेर यूट्युबमा अपलोड गर्ने चाहाना छ । यद्धपि उनी म्युजिक भिडियो तथा चलचित्रमा भने नआउने बताउछिन् । भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी समिक्षा फुर्सदमा यूट्युबमा नृत्यका स्टेपहरु हेर्छिन् । गाउन शैलीका पहिरन लगाउन रुचाउने समिक्षा ५ फिट ६ ईन्च अग्ली छिन् । साथीहरुले समिक्षाको सौन्दर्यको प्रसंसा गर्छन् तर उनी आफैंलाई खासै राम्री मान्दिनन् । ‘म मनबाट सुन्दर छु’, समिक्षा भन्छिन्—‘आफ्नो रुपको आफैंले वर्णन गर्ने कुरा पनि त आएन नि ।’