मिसेस गुरुङको उपाधि रबितालाई

पोखरा – तेस्रो संस्करणको मिसेस गुरुङ नेपाल २०७६ को उपाधि कास्की मादी गाउँपालिकाकी रबिता गुरुङले जितिन् । विवाहित गुरुङ महिलाहरुका लागि आयोजना गरिएको प्रतियोगीतामा उनले उपाधि सहित मोष्ट वाल्क, मोष्ट इन्टेलिजेन्ट र वेष्ट परफमेन्सको सब टाइटल पनि हात पारिन् ।
नाल्मा तमू समाज पोखरा र काठमाडौले आयोजना गरेको प्रतियोगीतामा मोष्ट एक्टिभ र वेष्ट हेयरको सव टाइटल सहित फष्ट रनर्सअप सम्झना गुरुङ, मोष्ट डिसिप्लिन र वेष्ट स्माइलको सव टाइटल सहित सेन्केन्ड रनर्सअप तनु गुरुङ भए । भियोर्स च्वाईसको पुरस्कार शोभा गुरुङको पोल्टामा प¥यो ।
पोखरा सभागृह हलमा कुल १० जनाका बिचमा फाइनल प्रतिष्पर्धा भएको थियो । ११ जना फाइनलमा पुगेपनि एकजना प्रतियोगीले अस्वस्थताका कारण सहभागीता जनाइनन् । अन्य सबै फाइनललिष्टले कम्तिमा एउटा न एउटा सब टाइटल भने हात पारे । विवाहित महिलालाई अगाडी बढ्न उत्पेरणा मिलोस् भनेर प्रतियोगीता आयोजना गरिएको प्रबन्ध निर्देशक पवि गुरुङले बताइन् । कार्यक्रमको आर्कषणको रुपमा साँस्कृतिक प्रस्तुती समेत रहेका थिए ।