मिस्टर वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड

काठमाडौं – फिलिपिन्सको मनिलामा सम्यन्न ‘मिस्टर वर्ल्ड–२०१९’ मा सहभागि मिस्टर नेपाल अक्षय रायमाझीले मल्टिमिडिया अवार्ड जित्न सफल भएका छन् ।

प्रतियोगितामा विभिन्न ५० वटा देशका पुरुष मोडलहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका क्रममा अक्षयले सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनाला लगायत नेपालको परिचान झल्कने भिडियो प्रस्तुत गरेका थिए । सोही भिडियोले उनलाई मल्टिमिडिया अवार्ड दिलाएको हो ।

अक्षयले नेपाली कलासंस्कृति झल्कने भोषभुषा सहितको काल भैरव नाच समेत प्रतियोगितामा देखाएका थिए । उनको नाच धेरैले रुचाएको उनले बताए ।

‘शिर्ष उपाधि भित्र्याउन नसके पनि मल्टिमिडिया उपाधी भने नेपाल ल्याएको छु’ उनले खुसी हुँदै भने-‘नेपालको लागि यो पनि खुसीको कुरो हो ।’

विश्वका प्रतिनिधिलाई भिजिट नेपाल–२०२० को निम्तो समेत दिएको बताएका उनले प्रतियोगिताबाट धेरै कुरा सिक्न पाएको सुनाए ।

अक्षय ‘मिस्टर नेपाल २०१७’ का विजेता हुन् । मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले उनलाई ‘मिस्टर वर्ल्ड’ मा नेपालको प्रतिनिधिको रुपमा पठाएको हो ।