बेलायतको रिडिङमा फेसन शोसहितको सांस्कृतिक कार्यक्रम

काठमाडौं- ग्रेटर रिडिङ नेप्लीज कम्युनिटी एसोसिएसन इन यूकेले नयाँ वर्ष २०७४ को अवसर पारेर वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । वैशाख १ गते शुक्रवार स्थानिय साउथ रिडिङ हलमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालका लोकप्रिय गायक शिव परियारको सांगीतिक प्रस्तुतीले दर्शकको मन जितेको छ । कार्यक्रममा गायक परियारले आफ्ना लोकप्रिय गीतहरु गाएका थिए । बेलायतमै बसोबास गर्ने नेपाली गायक भिम निरौलाको प्रस्तुतीले समेत दर्शकको मन जितेको उक्त समारोहमा स्थानिय कलाकारहरुले आकर्षक नृत्य प्रदर्शन गरेका थिए ।


कार्यक्रममा रिडिङ नेपाली समाजमै पहिलो पटक बालबालिका तथा वयष्क मोडलहरुले फेसन शो प्रस्तुत गरेका छन् । फेसन शोको कोरियोग्राफी पुराना कोरियोग्राफर सिद्धान्त घिमिरेले गरेका हुन् । सिद्धान्त तथा भिमसेन खड्काले फेसन शोबाहेक नयाँ वर्षको पार्टिको समेत संयोजन गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण भने बालबालिकाहरुको फेसन शो नै रह्यो । आयोजक ग्रेटर रिडिङ नेप्लीज कम्युनिटी एसोसिएसन इन यूकेका अध्यक्ष कृष्ण न्यौपानेले बालबालिकाहरुको फेसन शोले उनीहरुको आत्म विश्वास बढ्ने भन्दै भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गरिनु पर्ने बताउनु भयो ।


कार्यक्रमको प्रारम्भमा महासचिव ओमकार अधिकारीको स्वागत मन्तब्यबाट भयो । कार्यक्रमको थालनी भने नेपाली राष्ट्रिय गीतबाट भएको थियो । भिमसेन खड्का तथा नवराज न्यौपानेद्वारा सञ्चालित उक्त कार्यक्रमको बीचमा आयोजना गरिएको ऱ्याफलले पनि दर्शकमाझ उत्साह बढाएको थियो ।