दयाहाङको सेतो सूर्य एसियाकै उत्कृष्ट

काठमाडौं— अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘सेतो सुर्य’ (ह्वाइट सन) ले सिंगापुरमा आयोजित फिल्म फेस्टिभलमा एसियाकै उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । एसियाको प्रतिष्ठित फिल्म फेस्टिभल सिंगापुर फिल्म फेस्टिभलमा यो चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो ।

उत्कृष्ट फिचर फिल्मको अवार्डसहित यो चलचित्रले नगद ५० हजार सिंगापुर डलरसमेत पाउन सफल भएको छ । एसियाका विभिन्न १० देशका चलचित्रहरुलाई पछि पार्दै नेपाली फिल्म उत्कृष्ट भएको हो । यो फिल्मलाई दिपक रौनियारले निर्देशन गरेका छन् । निर्देशक रौनियार तथा अभिनेता दयाहाङ फेस्टिभलमा सहभागी भएर आईतबार नेपाल फर्केका छन् ।

दयाहाङ र रौनियार विमानस्थल आईपुग्दा निर्माता छिरिङ रितार शेर्पा, रविन्द्रसिंह बानियाँ सँगै चलचित्र विकास वोर्डका पदाधिकारी सहितको टोलीले स्वागत गरेको थियो । त्यसपछि दयाहाङ र रौनियारले एक स्वरमा सेतो सुर्यको जीत समग्र नेपाली चलmचित्र क्षेत्रको जीत भएको प्रतिक्रिया दिए ।
यो चलचित्र यहि शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।