चलचित्रमा पारिश्रमिक नपाएको पीडा

पारिश्रमिक नपाएको पीडा चलचित्रमा अभिनय गरेपछि पारिश्रमिक नपाउने कलाकारहरुले बिस्तारै मुख खोल्न थालेका छन् । केही साताअघि अभिनेता प्रदीप खड्काले पारिश्रमिक नपाएको चर्चा चलेको थियो । अघिल्लो साता मात्रै अभिनेत्री वर्षा शिवाकोटीले पनि पारिश्रमिक नपाएको गुनासो गरेकी छिन् । वर्षाले प्रदर्शनको तयारमिा रहेको चलचित्र ‘पुरानो बुलेट’ को आधा पारिश्रमिक अहिलेसम्म नपाएको गुनासो गरेकी हुन् ।

चलचित्रको छायांकन तथा डबिङ सम्पन्न भैसक्दा समेत आफूले पुरा पारिश्रमिक नपाएकोमा उनी दुःखी छिन् । चलचित्रको यूनिटले हालै फोटोसेसनका लागि बोलाउदा उनले पारिश्रमिक पाएपछि मात्रै आउने भन्दिइन् । त्यसो त यसअघि उनले चलचित्र जय शम्भूको पारिश्रमिक पाउन पनि संघर्ष गर्नु परेको सम्झिइन् । नया यूनिटसंग काम गर्दा जहिले पनि पारिश्रमिकमा किचलो हुने वर्षाको गुनासो छ । अभिनेता खड्का र अभिनेत्री शिवाकोटीले पारिश्रमिक नपाएको गुनासो सार्वजनिक रुपमै गरेपछि आगामी दिनमा थप अभिनेता–अभिनेत्रीले आफ्नो पीडा सार्वजिनक गर्ने सम्भावना छ ।