आक्रामक व्यापार गर्दै दाल भात तरकारी

काठमाडौं– शुक्रबारदेखि रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ले हिजो शनिबार देशैभर आक्रामक व्यापार गरेको छ ।

यसले काठमाण्डौको गोपिकृष्ण मुभिज, अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको छ ।

शनिबार बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिती बाक्लो छ भने दिवा शोबाट अधिकांस हाउसफुल रहेका छन् । बिहानैबाट हरेक शोमा ९५ देखि १०० प्रतिशत दर्शकको उपस्थिती छ ।

फिल्मका निर्माता किरण केसीले यो व्यापारलाई आक्रामक भन्दै दर्शकलाई धन्यवाद दिए । ‘दर्शक नै हाम्रो भगवान हुन् , जसले हामीलाई आशिर्वाद दिन हलमा आउनु भएको छ’ किरणले उत्साहित हुँदै भने ‘फिल्मले पाएको प्रतिक्रिया र दर्शकको उपस्थितिले हौसला थपेको छ ।’

फिल्मले शनिवार सिङ्गल र मल्टिप्लेक्स दुवै क्याटेगोरीको हलमा हाउसफुलका साथ् ब्यापार गरिरहेको छ । समिक्षागत रुपमा मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म हेरेर निस्किएका दर्शकले यसलाई राम्रो भनेका छन् ।

अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो फिल्मले हाँस्य शैलीमा प्रस्तुत गरेको छ । मुख्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सुदन केसी आज बिहानैदेखि काठमाण्डौका विभिन्न हलमा पुगेर दर्शकलसँग साक्षात्कार गरिरहेका छन् ।

काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, एफक्यूब लगायतका हलमा पुगेर उनीहरुले दर्शकसँग साक्षात्कार गरे । किरण केसीको प्रस्तुति रहेको फिल्मलाई उनकै पुत्र सुदन केसीले निर्देशन गरेका हुन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , बर्षा राउत , आँचल शर्मा , पुष्प खड्का , शिवहरी पौडेल, बसुन्धरा भुसाल , रविन तामाङ , किरण केसी , राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद पनि उनकै रहेको छ ।

यसमा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि। गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।