ह्याप्पि बर्थडे महानायक राजेश हमाल

अरुणा भट्टराई

काठमाडौं- आज जुन ९ तारिख, महानायक राजेश हमालको लागि बिषेश दिन । ५४ बर्षअघि उनले यो संसारमा पाइला टेकेका थिए । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म युगदेखि युगसम्मबाट नेपाली रजतपटमा पाइला राखेका थिए ।

यो चलचित्रपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । करिव २ सयभन्दा बढि फिल्ममा अभिनय गरिसकेका यी सुपरस्टारलाई पहिलो पटक आफ्नै मामा दीपक रायमाझीले चलचित्र क्षेत्रमा डेब्यु गराएका थिए । आफ्नो कुशल अभिनय प्रतिभाले लाखौं दर्शकको मनमा बस्न सफल हमाल हालसम्म धेरै वटा सम्मानहरुबाट सम्मानित भएका छन् ।

देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद, हामी तीन भाइ आदि चलचित्रले उनलाई सफलताको चुचुरोमा पुर्यायो हो । विद्वान अभिनेताको को रुपमा पनि चिनिने यी अभिनेताले आफ्नो उच्च शिक्षा पुरा गरेर चलचित्र क्षेत्रमा पाइला बढाएका हुन् । र्याम्पमा वाक गरेसंगै शुरु भएको अभिनय यात्रामा उनी जमेर लागि परे । उनले अभिनयको शुरुशुरुमा बर्षमा १२ वटा भन्दा बढि फिल्ममा अभिनय गरेका थिए ।

अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म शकुन्तला हो । यो फिल्म पछि उनले अहिले कुनै चलचित्रमा अभिनय गरेका छैनन् । अहिले उनी विभिन्न देशको भ्रमणको साथै एपिवान टेलिभिजनबाट प्रसारण हुने को बन्छ करोडपतिमा व्यस्त छन् ।