चलचित्र जाइराको पोस्टर सार्वजनिक गर्दै नम्रताले मनाइन बर्थडे

काठमाडौं– अभिनेत्री नम्रता श्रेष्ठले आज जेठ ३१ गते आफ्नो ३२ औं बर्थडे विशेष कार्यक्रम आयोजना गर्दै मनाएकी छिन् । सेतो गाउनमा सजिएकी नम्रता समारोह आकर्षक देखिएकी थिइन् । छोटो कपालमा उनको व्यक्तित्व अलग्गै देखिएको थियो । ज्ञानेश्वरस्थित आफैंले सञ्चालन गरेको एटिक बारमा आयोजित विशेष समारोहमा सयौं सञ्चारकर्मीमाझ नम्रताले बर्थडेको केक काटेकी हुन् ।

त्यस अवसरमा नम्रताकै मुख्य भूमिका रहेको चलचित्र ‘जाइरा’ को पोस्टर समेत सार्वजनिक गरियो । यो चलचित्र भदौ ६ गतेदेखि प्रदर्शन हुने कार्यक्रम छ । बर्थडे सेलिब्रेट गर्ने क्रममा अभिनेत्री नम्रता श्रेष्ठलाई चलचित्रका अन्य कलाकारहरु अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, सुजिता श्रेष्ठ, प्रमोद अग्रहरी आदिले पनि साथ दिएका थिए । चलचित्र जाइरामा नम्रता श्रेष्ठले मार्शल आर्ट्स खेलाडीको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रको लागि उनले आफ्नो गेटअप नै परिवर्तन गरेकी छिन् । आशुतोषराज श्रेष्ठले यो चलचित्र निर्देशन गरेका हुन् ।