भारतका रोबिन र अमेरिकाका जेफ फिल्म लेख्न सिकाउँदै

 

काठमाडौं – भारतका रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोन पटकथा लेखन सिकाउने भएका छन् । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँग मिलेर गर्न लागेको पटकथा लेखन कार्यशालाका लागि स्रोत व्यक्तिको रुपमा रोबिन र जेफ नेपाल आउने कन्फर्म भएको हो । एकेडेमीका अध्यक्ष केपी पाठकले भदौमा हुने कार्याशालाका लागि दुबै जना नेपाल आउन तयार रहेको जानकारी दिए ।
७२ वटा बलिउड फिल्म लेखेका रोबिन भट्ट महेश भट्टका नातेदार हुन् । उनले महेशका धेरैजसो फिल्मसँगै ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि फिल्म लेखेका छन् । जेफ भने अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन् । रोबिन भट्टले नेपाल आउन आफू उत्साहित रहेको बताएका छन् ।
‘ नेपाल आउने रहर पहिला देखि नै थियो । आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्नलाई म साँच्चिकै उत्सुक छु,’ उनले भनेका छन् । जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका तकनिकी र व्याकरण सिकाउने छन् ।
एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला गर्न लागेको बताए । ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो । वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा छ,’ पाठकले भने ।
कार्यशालाको संयोजन लेखक सम्पदा मल्लले गरिरहेकी छिन् । उनले कार्यशाला बिल्कुलै सिकारुका लागिभन्दा पनि कम्तीमा एउटा छोटो फिल्म बनाएका लागि लक्षित गरिएको बताइन् । उनले कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइन् । मल्लले भनिन्, ‘ उत्कृष्ट हुने पटकथाले १ लाख नगद पाउनेछ ।’
कार्यशालामा सहभागी हुन इच्छुकले असार मसान्तसम्म नाम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ । कार्यशाला भने भदौको ४ देखि १० गतेसम्म मकवानपुरको कुनै ठाउँमा हुनेछ ।