आफ्नै श्रीमान् विरुद्ध अभिनेत्री शिल्पा पोखरेलको उजुरी

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेलले निर्माता तथा श्रीमान् छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।  उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार दिउँसो परिसर बोलाइएको छ ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंमा विवाह गरेका थिए । विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।

उनीहरू निकट स्रोतका अनुसार विगत केही समययता दुवैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ । उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ। स्रोतकाअनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन्  ।

छविले शिल्पालाई लज्जा चलचित्रबाट ब्रेक दिएका थिए ।  त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम्’ तथा ‘हवल्दार सुन्तलीुमा अभिनय गरेकी थिइन् । चलचित्रमा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा चल्तीकी मोडल थिइन् ।