पोइ पाऱ्यो कालेको शिर्ष गीत सार्वजनिक

काठमाडौं – कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पोइ पर्‍यो काले’ को शिर्ष गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश खड्का, सुरक्षा पन्त र सोहित मानन्धर फिचर्ड छन् । रामजी लामिछाने गीतका कोरियोग्राफर हुन् ।

गीतमा गायक रामचन्द्र काफ्ले र गायिका अञ्जु पन्तको संयूक्त गायन छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा नृपेश उप्रेतीको शब्द छ । गीतको भिडियोमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने आकाशको जोडी श्रृष्टिसँग बाँधिएको छ । गीतको अडियो र भिडियो दुबै औसत छ । गीतलाई आकर्षक बनाउन तयार पारिएको सेटअप अनावश्यक रुपमा सजाइएको छ ।

कालो वर्ण भए पनि मन गोरो भएको एक पात्रको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘पोइ पर्‍यो काले’ को मूलकथा अभिनेता सौगातको वरिपरि घुमेको छ । शिशिर राणा यस फिल्मका लेखक तथा निर्देशक हुन् । यसअघि उनले फिल्म ‘तिमीसँग’ को क्याप्टेनसिप सम्हालेका थिए । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ ।

अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्म हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने अभिनेता सौगातको भनाई छ । नायिका श्रृष्टि फिल्ममा पूजाको साथीको भूमिकामा छिन् । उनी फिल्म अवधिभर आफू खासै नदेखिए पनि भूमिका भने महत्त्वपूर्ण रहेको बताउँछिन् । अभिनेता आकाश र अभिनेत्री पूजाले निकै मेहनतपूर्वक फिल्म बनाएका कारण दर्शकलाई मन पर्नेमा विश्वास व्यक्त गरे ।