पर्वको ट्रेलर र पोस्टर सार्वजनिक

काठमाडौं– सस्पेन्स–थ्रीलर चलचित्र  ‘पर्व’ को ट्रेलर आइतबार काठमाडौंमा रिलिज भएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको मोसन पोष्टर र ट्रेलर रिलिज गरिएको हो । गोपिकृष्ण टीभीको निर्माणमा सुवास इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो चलचित्र ‘जेठ १२’ गतेदेखि प्रदर्शन हुनेछ । यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।
निकिता पौडेल र सुवास गिरीले निर्माण गरेको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक राउतले भने–‘यो चलचित्रको कथा सुन्दा मलाई निर्देशन गर्न सक्छु र भन्ने लागेको थियो । तर, अहिले चलचित्र हेरिसकेपछि भने केही नया काम गरेछु जस्तो लागेको छ ।’
निर्माता सुवास गिरीले चलचित्र उत्कृष्ट बनेको र नेपाली चलचित्रका लागि फरक स्वाद हुने सुनाए । नायिका नम्रता श्रेष्ठले चलचित्रमा आफूहरुले मिहिनेत गरेको भन्दै राम्रो कथामा चलचित्र बनेको बताइन् ।
नायक, कोशिश क्षेत्रीले आफ्नो भूमिकाको बारेमा प्रष्ट पार्दै चलचित्रमा बिरामी प्रेमिकालाई माया गर्ने एक यूवक र लेखकको भूमिकामा रहेको सुनाए ।
यो चलचित्रमा समावेश  ‘काले दाई काले दाइ’ बोलको गीतको भिडियो अहिले सर्वाधिक चर्चित छ । युटुबमा यो गीतको भिडियो ९१ लाख भन्दा बढी पटक हेरिएको छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, सुरेन्द्र पौडेलको सम्पादन, किरण माइकलको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन छ ।

यस्तो छ ट्रेलर