तेस्रो पटकमा टुंगो लाग्यो शायद–२ को रिलिज डेट

असार ३० गतेदेखि रिलिज हुने

काठमाडौं- हङकङबाट प्रदर्शनको थालनी गरेको निर्माता सुनिल रावलको पछिल्लो फिल्म ‘शायद–२’ नेपालमा भने असार ३० गतेदेखि प्रदर्शन हुने भएको छ ।
‘सायद,‘ होस्टेल तथा होस्टेल रिटन्र्स जस्ता सफल फिल्महरुबाट स्थापित ब्यानरको रुपमा चिनिएको दुर्गिश फिल्म्सले ‘सायद–२’ निर्माण गरेको हो ।
निर्माण कार्यमा रावललाई इश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् । पुष्पराज न्यौपानेको निर्देशन रहेको चलचित्र शायद–२ यसअघि चैत ४ गते प्रदर्शनको मिति तोके पनि एसएलसी परिक्षाको कारणले जेठ १२ गते नयाँ मिति तोकिएको थियो ।
जेष्ठ १२ मा पनि शायद–२ चलचित्रका लक्षित दर्शकको अर्को परिक्षा पर्ने भएकाले चलचित्रको प्रदर्शनको मिति तेस्रो पटक सार्दै असार ३० लाई तोकिएको निर्माता सुनिल रावलले बताएका छन् ।
चलचित्र मार्च १९ का दिन जापानको टोकियोमा प्रिमियर गरिने भएको छ । प्रिमियरमा सहभागी हुन निर्माता सुनिल रावल, दुर्गिस थापा, कलाकार शुसील श्रेष्ठ, स्यारोन श्रेष्ठ र रंग पत्रकार श्याम अर्याल टोकियो जाने भएका छन् ।
राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद–२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रसाईंको मुख्य भूमिका रहेको छ ।
चलचित्र शायद–२ बहुप्रतिक्षित चलचित्रहरु मध्येको एक हो । चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सक्ने कुरामा निर्माण पक्ष विश्वस्त देखिएको छ ।
निर्माता रावलले अब दुई चलचित्रहरु ‘लाहुरे’ र ‘उलन म्यारी’को निर्माण कार्यको थालनी समेत गरिसकेका छन् ।