कलाकार संघको अध्यक्षका उम्मेदवार रविन्द्र खड्काले गरे यस्तो प्रतिवद्धता

काठमाडौं– भोलि शनिबार हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनका लागि अध्यक्ष पदमा रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएकी सरिता लामिछानेले केही दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्दै आफ्नो धारणा राखेको केही दिनपछि सोही पदका अर्का उम्मेदवार कलाकार रविन्द्र खड्काले पनि २१ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले चलचित्र कलाकार संघको भवन निर्माण गर्नेदेखि कलाकारलाई पेन्सनको व्यवस्था गर्ने सम्मका प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

खड्काले सार्वजनिक गरेको प्रतिवद्धतामा कलाकारको वर्गिय हक हित र सुरक्षा आफ्नो पहिलो प्राथमिकता भनेका छन् ।

खड्काले कलाकारको आर्थिक सम्वृद्धिका लागि विशेष कार्यक्रम संचालन गर्नेदेखि सरकारले भर्खरै घोषणा गरेको समाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने समेत बताएका छन् ।

वृद्ध र अशक्त कलाकारका लागि आर्थिक स्तरोन्नतीको कार्यक्रममा पहल गर्ने बुँदा पनि उनको प्रतिवद्धता पत्रमा समावेश छ । उनले संघको भवनलाई आफ्नो लक्ष्य र आफ्नो उद्देश्य भनेका छन् ।

पुरा पारिश्रमिक नपाएका कलाकारको हकका लागि विशेष व्यवस्था गर्ने, कलाकर्मीहरुको वरिष्ठताक्रम निर्धारण गर्ने कार्ययोजना पनि उनले अगाडि सारेका छन् ।

उनले कलाकार संघलाई सातै प्रदेशमा पहुँच पुर्याउने महासंघको अवधारणा ल्याउने पनि बताएका छन् । आफ्नो सिंगो प्यानल नै सार्वजनिक गर्दै रविन्द्रले कलाकार संघलाई राजनीतिबाट मुक्त बनाउने समेत बताए ।