सामाजिक कार्यमा राजनराज र मिलन

इटहरी-  गायक तथा संगीतकार राजनराज सिवाकोटी र गायिका मिलन नेवार सामाजिक कार्यमा जुटेका छन् ।

प्रायः गीत, संगीतमा व्यस्त रहने उनीहरु अहिले आफूहरुले गीत, संगीतबाट कमाएको केही पैसा सामाजिक काममा खर्च गर्न थालेका हुन् ।

हालै उनीहरुले इटहरी १९ भवानीपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा आफूले कमाएको केही पैसा कटाएर त्यहाँ अध्ययन गर्ने विपन्न बालबालिकालाई सहयोग गरेका छन् । हालै आयोजित एउटा कार्यक्रममा उनीहरुले नगद दुई लाख रुपैँया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार प्रसाद गुरागाईँ र विद्यालयका प्रधानाध्यापक शिबचन्द्र राईलाई हस्तान्तरण गरे ।

नगद हस्तान्तरण गरेपछि कार्यक्रममा बोल्दै गायक राजनराज सिवाकोटीले आफूले सानै उमेरदेखि सामाजिक योगदान गर्न उत्प्रेरित भएको भएपनि अहिले यहाँको शहीद स्मृति आवासीय विद्यालयलाई योगदान गर्न पाउनु खुशी भएको बताए । उनले भने- ‘मलाई सानैदेखि सामाजिक काम गर्न उत्प्रेरणा भएको हो, खासमा मानिसलाई पैसाले कहिल्यै पुग्दैन रहेछ ।’

उनका अनुसार भोका, टुहुरा र विपन्न बालबालिकाको पेट भरिएको र खुशी, स्वास्थ्य रहँदा मात्र आफू खुशी हुने उल्लेख गरे । ‘हामीले विभिन्न देशमा गएर गरिको कन्सर्ट र विभिन्न कार्यक्रमबाट आएको पैसा यो विद्यालयलाई दिने उद्धघोष गर्छ,’ उनले भने ।

कार्यक्रममा गायिका मिलन अमात्यले गीत, संगीतको क्षेत्रबाट कमाएको पैसा बालबालिकाका लागि छुट्याएको बताईन् । उनले भनिन्, ‘बालबालिकाको स्वास्थ्य, शिक्षाका क्षेत्रमा बजेट छुट्याएर केही सामाजिक काम गरौँ भन्ने भएर यो काम गरिएको हो ।’

उनका अनुसार गीत गाएर कमाएको केही प्रतिसत उक्त विद्यालयलाई आगामी दिनमा पनि दिने बताईन् ।