सेनाको गाडीको ठक्करबाट लोक गायकको निधन

काठमाडौं– सडक दुर्घटनामा परी लोक गायक लेखबहादुर पुन (एलबी) को  निधन भएको छ ।

बिहीबार गते साँझ ललितपुरबाट बा ८६ प ७५० नम्बरको मोटरसाइकल चढेर सुन्धारा जाँदै गरेका गायक एलबी पुनलाई पछाडिबाट आउँदै गरेको बा १ ग २४५६ नम्बरको नेपाली सेनाको गाडीले काठमाडौंको त्रिपुरेश्वरमा ठक्कर दिएको थियो ।

अर्घाखाँची मालारानी–९ गोखुङगा सेपानीका २५ वर्षीय पुनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति निधन भएको मृतकका दाजु लिमान बहादुर पुनले जानकारी दिएका छन् । अहिले पुनको सवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा राखिएको छ ।

नेपाली लोक, कला संस्कृतिमा ७ वर्ष बिताइसकेका एक अभियन्ता पुनले काठमाडौंमा बसेर लोक दोहोरी नृत्य र अभिनयमा सक्रिय भुमिका खेलेका थिए । मृतक पुन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल बानेश्वर-कोटेश्वर समितिका सहसचिव पनि हुन् । अहिले टिचिङ हस्पिटलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीसहितको नेपाली कलाकारको टोलीको ठूलो भीड लागेको छ ।

अर्घाखाँचीकै शिर उच्च राखेका एक बहुप्रतिभाशाली व्यक्तित्व पुनको निधनले देशकै कलाकारिता क्षेत्रमा ठूलो क्षति भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीका निवर्तमान अध्यक्ष सहयोगी बिसीले बताए ।

एक उदयमान कलाकारको दुखद निधनले एक कुशल, बहु प्रतिभा शाली कलाकार गुमाएको अर्घाखाँची-काठमाडौ कलाकार समाजका अध्यक्ष मधुसूदन बन्जाडेले बताए ।

घटनाको जानकारी पाउनेबित्तिकै विभिन्‍न कलाकार जिल्लाबासिको ट्रमा सेन्टरमा भिड लागेको थियो । ठक्कर दिने चालक र गाडीलाई जनसेवा प्रहरी बिट विशाल बजारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उचित क्षतिपूर्ति उपलब्ध नभएसम्म शव नबुझ्ने मृतकका आफन्तले जनाएका छन् ।