गायिकाद्वयलाई नारायण गोपाल स्मृति सम्मान

काठमाडौं-नारायण गोपाल संगीत कोषले यो वर्षको नारायण गोपाल स्मृति सम्मानबाट गायिकाद्वय मीरा राणा तथा ज्ञानु राणालाई सम्मान गर्ने निर्णय गरेको छ ।

महाराजगन्जस्थित पहिले नारायण गोपाल बसेको घरमा पर्सि आइतबार अर्थात मंसिर १९ गते नारायण गोपालको स्मृति दिवसको अवसर पारेर गायिकाद्वयलाई उक्त सम्मान अर्पण गरिने छ । सम्मानको राशि जनही नगद २५–२५ हजार रुपैया छ ।

गायिका ज्ञानु राणा र मीरा राणाले नेपाली गीत तथा संंगीत क्षेत्रको विकासमा योगदान गरेकाले उक्त सम्मान प्रदान गर्न लागिएको कोषकी महासचिव उषा शेरचनले जानकारी दिएकी छिन् । गायिकाद्वयले नारायण गोपालसँग समेत युगल गीत गाइसकेका छन् ।

नारायण गोपालको २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि नेपाली सुगम संंगीतको विकासमा क्रियाशील गायक तथा संगीतकर्मीलाई प्रत्येक वर्ष मंसिर १९ गतेका दिन उक्त सम्मान प्रदान गरिँदै आएको छ ।