गायिका सविना कार्कीको ‘सार्थक’ सार्वजनिक

काठमाडौं— गायिका तथा समाजसेवी सविना कार्कीको तेस्रो गीति एल्बम ‘सार्थक’ सार्वजनिक भएको छ । कार्कीको उक्त एल्बमलाई गीतकार दिनेश अधिकारी, गायक आनन्द कार्की, स्वरूपराज आचार्यले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । विमोचित एल्बममा ६ वटा गीत समावेश गरिएको छ ।

सचिन सिंह, सञ्जय खड्गी, बिबी अनुरागी, अनिल शाही र शम्भुजित बास्कोटाको संगीत रहेको उक्त एल्बममा श्रीपुरुष ढकाल, दिनेश अधिकारी, अनिल शाही, प्रकाश पुञ्ज, प्रविन दाहाल र गायिका कार्कीको शब्द छ ।

एल्बममा समावेश गरिएको ‘हिसाब किताब’ बोलको गीत भने कार्की आफैंले शब्द सिर्जना गरेकी हुन् भने संगीत पनि आफैंले भरेकी छन् । ‘रुनु पर्ला भन्ने डरले’ बोलको गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । कार्कीको गीति एल्बम सार्वजनिक कार्यक्रममा मन्जु कार्की लामिछाने, गीतकार दिनेश अधिकारी गायक आनन्द कार्कीलाई सम्मान गरिएको थियो ।
माया–पिरतीका गीत गाउने गायिका कार्की यसपालि भिन्न शैलीका गीतमा सुनिएकी हुन् । कान्छो छोराकै नाममा तेस्रो एल्बम निकालेकी उनले अरूलाई प्रेरणा मिलोस् भनेर यस्ता गीत गाएको बताइन् ।