सुवासलाई बिग आइकनको उपाधि

पोखरा– पोखरा लेखनाथ महानगरपालिका सैनिकवस्तिका सुवास गुरुङले पोखरा सभागृहमा खचाखच भरिएका दर्शकको अगाडि सातौ संस्करणको विग आइकनको उपाधि जितेका छन् ।

यसअघि दूईपटक विग आइकनमा भाग लिएका सुवासका लागि विग आइकनमा भाग लिनु नौलो भने थिएन । उनी चौथो संस्करणको बिग आइकनमा अडिसन दिन आए तर पहिलो चरणको अडिसन राउण्डमानै छनोट हुन नसकी प्रतियोगिताबाट बाहरिए । उनको विग आइकन उपाधि जित्छु भन्ने सपना भने कायमै थियो ।  पुनः छैठौँ संस्करणको बिग आइकनमा सहभागिता जनाए । यो  पटक उनी अडिसन मार्फत छनोट त भए तर उत्कृष्ट २० भन्दा माथि पुग्न सकेनन् । पुनः सातौ संस्करणमा भाग लिए र आफ्नो सपना पुरा गरे ।

उपाधि जितेपछि सुवासले भने ‘मैले संसार जितेको अनुभव गरेको छु ।’ निरन्तरको प्रयास पछि आफु सफल भएको भन्दै उनले आगामी दिनमा सांगीतिक करिअरलाई अगाडि बढाउन अझै बढि चुनौती थपिएको प्रतिक्रिया दिन उनले भ्याए ।

उनीसँगै सातौ बिग आइकनको उपाधिको लागि चितवन पटिहानीका सागर आले  र कास्की याम्जाकोटकी प्रिया गुरुङ पनि दावेदार थिए । उनीहरुलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ सँस्करणको बिग आइकनको उपाधि सँगै आफ्नो सपना पुरा गरे । सातौँ बिग आइकन अन्तरगत चितवन पटिहानीका सागर आले फस्ट रनर अप भए भने पोखरा संगमटोलकी प्रिया गुरुङ सेकेन्ड रनरअप भईन् ।

बिग आइकन भएसँगै सुवासले १ लाख ७५ हजार रुपैयाँ बराबरको यामाहा स्कुटर र बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर पुरस्कार स्वरुप प्राप्त गरेका छन् । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरे ।

बिग एफएमले ‘बिग आइकन’को ग्राण्ड फिनालेमा टिकट विक्रिबाट उठेको सम्पूर्ण रकम पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित ‘बालश्रम न्यूनिकरण कार्यक्रम’लाई उपलब्ध गरायो । शुक्रबार भएको कार्यक्रम अन्तरगत टिकट विक्रिबाट ५२ हजार ५० रुपैयाँ संकलन भएको थियो ।

कार्यक्रममा फाइनलिस्टसँगै सातौँ बिग आइकनका उत्कृष्ट १० प्रतिस्पर्धीले समेत प्रस्तुती दिए । सोहि क्रममा बिग आइकनका निर्णायद्वय श्यामसुङ तामाङ, विवेक श्रेष्ठसँगै यसअगाडिका बिग आइकन विजेताहरु मुस्कान रानाभाट र साजन आलेको प्रस्तुतीमा पोखरा सभागृह गुञ्जिएको थियो ।