रिसूट भयो दर्पण छायाँ-२ को क्लाइमेक्स

दार्जिलिङ- फिल्म ‘दर्पण छायाँ-२’ को महत्वपूर्ण दृष्यको पुनः सुटिङ गरिएको छ । दार्जिलिङ पुगेर लाइमेक्सको रि–सूट गरिएको हो ।
‘भीएफएक्स’ प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी घिमिरेको योजना प्राविधिकका कारण असफल भएपछि पुनः सुटिङ गर्नुपरेको हो ।
फिल्मका दृष्यलाई आकर्षक बनाउने प्रविधि अर्थात् भीएफएक्स गर्न जय गिरीलाई दिइएको थियो । उनले सुरुमा राम्रो गर्ने बताएपनि निर्देशक घिमिरेको अपेक्षा पूरा गर्न सकेनन् । सुटिङ पूरा गरेर डबिङ थालेका निर्देशक घिमिरेले फेरि सुटिङ गर्ने जोखिम त्यही कारणले मोलेका हुन् ।


झण्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जिलिङको जीटीए सभा हलमा गरिएको छ । जुन दृष्यका लागि मात्रै दार्जिलिङका ३० जना संगीतकर्मी जम्मा भएका थिए । सकेसम्म स्तरीय र वास्तविक देखाउने प्रयास गरिएको घिमिरेले बताए । उनले भने —‘हामीले यही दृष्यलाई भीएफएक्स गर्न एक चरणको सुटिङ गरिसकेका थियौं तर यसको जिम्मा लिएका जय गिरीले राम्रो गर्न सकेनन् ।’
फिल्मको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन् । उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने ‘डान्स प्लस’ सिजन २ का फाइनलिस्ट हुन् । मुम्बईमा रहेर उनले कोरियोग्राफी अघि बढाइरहेका छन् । सुटिङका क्रममा भेटिएका लेप्चाले भने -‘नेपाली फिल्मका नृत्यको कोरियोग्राफी गर्न पाउँदा खुशी लागेको छ ।’ उनले यो फिल्मका लागि १० जना स्टेप डान्सर समेत सिक्किमबाटै ल्याएका थिए ।
फिल्मको छायांकन रामेश्वर कार्कीले गरेका हुन् । फिल्मको मुख्य भूमिकामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन् । सहारा फिल्मस्को पहिलो प्रस्तुति रहेको फिल्मको प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् ।