गायिका देविका बन्दनाको दोस्रो हिन्दी गीत सार्वजनिक

काठमाडौ– गायिका देविका बन्दनाको स्वरमा रेकर्ड भएको दोस्रो हिन्दी गीत ‘अब दिल जरा जरा…’ को म्युजिक भिडियो शुक्रवार काठमाडौंमा प्रिमियर गरिएको छ । त्यसअघि उक्त भिडियोलाई भिनस कम्पनिले मुम्बईमा शुक्रवार नै बिहान आफ्नो यूट्युब च्यानलबाट प्रिमियर गरेको थियो ।
यूग भुषालको शब्द तथा संगीतको उक्त गीतका म्युजिक भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् । काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा नेपाली अभिनेता अनुप विक्रम शाही तथा भारतीय अभिनेत्री पारुल गुलाटीले रोमान्टिक भूमिका निर्वाह गरेका छन् । भिडियोमा पारुलले मोडलको भूमिका निर्वाह गरेकी छिन्, जहाँ नेपाली ग्ल्यामर फोटोग्राफर राजभाइ सुवालले फोटोग्राफरकै भूमिका निर्वाह गरेका छन् ।
यूग भुषालद्वारा नै निर्माण गरिएको उक्त म्युजिक भिडियोका म्युजिक प्रोड्यूसर भने रुप महन्ता हुन् । निर्देशक बिजेश पौडेलले भिडियोलाई सम्पादन तथा रंग संयोजन गरेका छन् । निशिला शाक्यद्वारा कोरियोग्राफी गरिएको म्युजिक भिडियोलाई प्रमोद कार्कीले छायांकन गरेका हुन् । मुम्बईमै रेकर्ड गरिएको उक्त गीतमा निरज सिंह रेकर्डिङ इन्जिनियर हुन् भने रुप महन्तले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
शुक्रवार क्रिएटिभ डि स्टुडियोमा आयोजित भिडियोको प्रिमियर शोमा गायिका देविका बन्दनाले हिन्दी गीत रेकर्डिङको रमाइलो अनुभव सुनाएकी थिइन् । यसअघि उनले गाएको ‘बस तेरा नाम…’ शीर्षकको हिन्दी गीतलाई जि म्युजिकले सार्वजनिक गरेको थियो । समारोहमा गायिका कुन्ति मोक्तानले गायिका बन्दनको हिन्दी गायनको प्रसंशा गर्दै म्युजिक भिडियो पनि उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् ।

यस्तो छ अब दिल जराको म्युजिक भिडियो