देविका बन्दनाको हिन्दी गीत सार्वजनिक

नेपाली शब्दले थप्यो मिठास

काठमाडौं- नेपाली चलचित्रका दर्जनौं लोकप्रिय गीतकी गायिका देविका बन्दना  एउटा नया हिन्दी गीतमा सुनिएकी छिन् । भारतको प्रतिष्ठित जी म्युजिकले उत्पादन गरेको ‘बस तेरा नाम…’ शीर्षकको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएपछि गायिका बन्दनाको चर्चा नेपालमा मात्र होइन, भारतमा समेत चुलिएको छ ।

सुमधुर स्वरकी धनी गायिका देविका बन्दनालाई जी म्युजिकले मुम्बईमै बोलाएर उक्त गीत रेकर्ड गराएको हो । गीत रेकर्ड गर्ने क्रममा आफ्नो गायनको प्रसंसा समेत पाइन् । भारतमै बसेर गीत रचना र संगीत निर्देशनको काम गर्दै आएका युग भुसालमार्फत जी म्युजिक कम्पनीको सम्पर्कमा पुगेकी गायिका देविका बन्दनाले भुसालद्वारा रचना गरिएको ‘बस तेरा नाम’ गीत गाएकी हुन् । यो गीतमा बन्दनालाई बलिउडका गायक कुनाल गञ्जावालासँगको साथ छ । गीतमा संगीतकार विजेश पौडेलको संगीत निर्देशन छ । संगीतकार राजन इशानले यो गीतमा संगीत संयोजन गरेका छन् ।
हिन्दी गीतमा नेपाली गायिकाको स्वर भएकाले होला यो गीतमा गायिका बन्देनाले नेपाली शब्दसमेत समावेश गरेकी छिन् -कान्छाले कान्छीलाई हेर बोलायो, शुसेली हालेर लैबरी लैबरी लै’ । ‘नेपाललाई चिनाउनका लागि हिन्दी गीत भए पनि त्यसमा नेपाली शब्द पनि प्रयोग गरेँ । नेपाली शब्द थपेपछि गीतमा मिठास बढेको छ’ देविकाका अनुसार भारतीय स्रोताले पनि यो गीत मन पराएका छन् ।

यो गीतको संगीत र एरेन्जमेन्टलगायतको कार्य नेपालमै गरिए पनि रेकर्डिङका लागि जी म्युजिकले देविकालाई मुम्बईमा बोलाएको थियो। ‘जी म्युजिकको निम्तोमा गीत रेकर्डिका लागि मुम्बई बोलाइएपछि त्यहाँ गएर कैलाश खेरको स्टुडियोमा रेकर्डिङ गराएँ, देविका भन्छिन-‘रेकर्डिङका क्रममा जी म्युजिक कम्पनीको टिमले तपाईंको भोकल एक्स्ट्रा रहेछ। भारतीय गायिका कसैसँग पनि मिल्दैन भनेर तारिफ गर्दा खुसी लाग्यो ।’  ‘यो मेरो लागि मात्र नभई नेपाली गायन क्षेत्रकै लागि पनि राम्रो अवसर र क्षण भएको महसुस मैले गरेकी छु ।’
यो गीतको म्युजिक भिडियो नेपालकै विभिन्न मनोरम स्थलमा छायांकन गरिएको छ। विजेश पौडेलले निर्देशन गरेको म्युजिक भिडियो जोमसोम, मार्फा, कागवेनीजस्ता मनोरम तथा आकर्षक स्थानमा प्रमोद कार्कीद्वारा खिचिएको म्युजिक भिडियोको सम्पादन भने मुम्बईमै गरिएको हो ।


‘भिडियोका सम्पादक सोनु गुप्तालगायतले भिडियो हेरेर यो स्वीजरल्यान्डमा सुटिङ गरेको हो भनेर सोध्दा अत्यन्तै गर्व लाग्यो । उनीहरु भिडियोमा देखिएका नेपालका दृष्यहरु हेरेर यति प्रभावित भए कि हामी पनि अब अरु प्रोजेक्ट लिएर नेपाल आउँछौं भनेका छन्’ देविकाले खुसी हुँदै भनिन्- ‘एउटा भिडियो हेरेर अरु प्रोजेक्टका लागि भारतीय टिम नेपालमा आए यसको थप सफलता हुनेछ।’ म्युजिक भिडियोमा नेपालका मोडल प्रत्युषमान सिंह वैद्य र मुम्बईकी मोडल विना हसनले मोडलिङ गरेका छन् ।

यो गीत र यसको म्युजिक भिडियोलाई जी म्युजिक कम्पनीले शुक्रबार युट्युब र भारतीय एफएमहरुबाट सार्वजनिक गरेको छ । पहिलो दिन नै भारतका विभिन्न सञ्चार माध्यममा छाएको यो म्युजिक भिडियो भारतीय टेलिभिजन च्यानलहरुमा भने एक सातापछि मात्र प्रसारणमा आउनेछ। यो गीत र यसको म्युजिक भिडियोसँगै देविकाको हिन्दी गीत गायन यात्रा लम्बिने संकेत यसले देखाएको छ ।
उक्त गीतमा देविकाको स्वरबाट प्रभावित भई जी म्युजिकले उनको स्वरमा अर्को गीत पनि रेकर्ड गराएको छ। पेहेली पेहेली बोलको एकल गीतको सम्पूर्ण काम मुम्बईमै भएको छ । युग भुसालकै शब्द तथा संगीतको उक्त गीत पनि कैलाशकै स्टुडियोमा रेकर्डिङ गरिएको छ । उक्त गीतको म्युजिक भिडियो पनि नेपालमै छायांकन हुनेछ। आगामी मार्चमा रिलिज गरिने गीतको म्युजिक भिडियोको सुटिङ आगामी फागुन चैतमा गरिने छ ।

यस्तो छ भिडियो-