‘वार’ को कमाइ कति ?

ऋतिक रोशन तथा टाइगर श्राफको फिल्म ‘वार’ बक्स अफिसमा अहिले पनि चलिरहेको छ । त्यसो त यसको आम्दानीको रफ्तार घटेको छ, तर केही सिनेमा घरहरुमा अहिले पनि वार चलिरहेको छ, जसका कारण फिल्मको कलेक्सन लगातार बढिरहेको छ ।

बलिउडका फिल्महरुका ट्रेडड विश्लेषक तरण आदर्शका अनुसार वारले ५ हप्तापछि ३ सय १७ करोड एक लाख भारतीय रुपैया (भारु) बराबरको आम्दानी गरिसकेको छ, जसमा १४ करोड ६० लाख भारु तमिल तथा तेलुगु भाषाको मिसाइएको छ ।

यदि पाँचौं हप्तामा वारको कलेक्सन हेर्ने हो भने अघिल्लो शुक्रवार यो फिल्मले ४० लाख, शनिवार ५० लाख, आइतबार ६१ लाख, सोमबार २० लाख, मंगलबार २० लाख, बुधवार १८ लाख तथा बिहिबार पनि १८ लाख भारु आम्दानी गर्न सफल भएको छ । फिल्मको हिन्दी भर्सनले मात्र ३ सय २ करोड ४१ लाख भारु आम्दानी गरेको छ ।

गत दशैंअघि अर्थात अक्टोबर २ का दिन प्रदर्शन भएको यो फिल्मले ९ दिनको ओपनिङ विक पाएको थियो । वारले १ सय करोडको आाकडा अघिल्ला तीन दिनमै पुरा गरेको थियो । यो फिल्मले पहिलो हप्तामा २ सय ३८ करोड ३५ लाख भारु आम्दानी गरेको थियो, जबकि दोस्रो हप्ता यो फिल्मले ४९ करोड ६५ लाख भारु आम्दानी गरेको थियो । तेस्रो हप्तामा उक्त फिल्मले २१ करोड ३५ लाख भारु आम्दानी गरेको थियो भने चौथो हप्तामा ५ करोड ३२ लाख भारु आम्दानी गरेको थियो । पाँचौं हप्तामा भने फिल्मले २ करोड ३४ लाख भारु आम्दानी गर्न सफल भएको थियो ।

बलिउडको बक्स अफिसमा वारलाई ब्लकबस्टर फिल्म मानिएको छ । यही शुक्रवारदेखि प्रदर्शनको पाँच साता पुरा गरेको बलिउडको फिल्म ‘वार’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन जारी राखेको हो । सिद्धार्थ आनन्दद्वारा निर्देशित यो फिल्म वर्ष २०१९ कै सबैभन्दा सफल फिल्मको रुपमा स्थापित भैसकेको छ । भारतको अल टाइम ग्रसरको सूचीमा यो फिल्म सलमान खानको बजरंगी भाईजानभन्दा थोरैमात्र पछि रहेको बताइन्छ । ऋतिक तथा टाइगरको करियरमा समेत यो हालसम्मकै सबैभन्दा सफल फिल्मको रुपमा स्थापित भएको छ । वारले यी दुवै अभिनेतालाई ३ सय करोड क्लबको सदस्य बनाइदिएको छ । यशराज ब्यानरको यो फिल्ममा वाणी कपूरले अभिनेताको भूमिका निर्वाह गरेकी छिन् ।