logo
    आइतवार, साउन २४, २०८३
आइतवार, साउन २४, २०८३

नेपाली कलाकार झलनाथ खत्री अमेजन प्राइम सीरीजको प्रमुख भूमिकामा 


  • आइतवार, जेष्ठ २४, २०८३
  • 76
    SHARES

    नेपाली कलाकार झलनाथ खत्री अमेजन प्राइम सीरीजको प्रमुख भूमिकामा 

    काठमाडौं– नेपाली कलाकार झलनाथ खत्रीले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म अमेजन प्राइमको सीरीज ‘द पिरामिड स्किम’ मा एक महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।



    हालै सार्वजनिक भएको यस सीरीजको पहिलो सीजनका ७ एपिसोडमध्ये ४ एपिसोडमा उनी देखिएका छन् ।

    मल्टी लेभल मार्केटिङ (एमएलएम) स्किमको विषयवस्तुमा आधारित यो सीरीजमा खत्रीले निर्णायक भूमिकामा अभिनय गरेका हुन् । सीरीजका आगामी सीजन निर्माण भएमा उनी त्यसमा पनि निरन्तर देखिने सम्भावना रहेको छ ।

    तर, अमेजन प्राइमसम्मको यो यात्रा खत्रीका लागि सहज भने थिएन । अभिनयप्रतिको रुचिलाई पछ्याउँदै उनले भारतको दिल्लीस्थित अस्मिता थिएटर ग्रुपमा दुई वर्ष अभिनय प्रशिक्षण लिए । उनी नेपालको ओस्कार इन्टरनेशनल फिल्म कलेजका विद्यार्थी पनि हुन् ।

    परिवारबाट विदेश जान सुझाव आएका थिए तर अभिनयप्रतिको लगनले उनलाई देश छोड्ने साहस दिएनन् । उनी भारतसम्म भने पुगे र गोवामा वेटरको कामसमेत गरे ।  उनी त्यसपछि पुनः गोवाबाट अभिनयको अवसर खोज्दै मुम्बई पुगे ।

    मुम्बईमा संघर्षका दिन बिताइरहेका बेला चर्चित सीरीज ‘पाताल लोक’ को कास्टिङसमेत गरिसकेको कास्टिङ बे कम्पनीले ‘द पिरामिड स्किम’ का लागि अडिसन खुलाएको थियो । खत्रीले पनि अडिसन दिए ।

    प्रारम्भमा उक्त भूमिकाका लागि अर्कै कलाकारको नाम सोचिएको भए पनि उनको अडिसन प्रभावशाली बनेपछि निर्माण टिमको ध्यान खिच्न सफल भए ।

    अडिसनपछि नेपाल फर्किएका उनलाई केही सातापछि सर्टलिस्ट भएको जानकारी आयो । त्यसपछि भएको थप प्रक्रियापछि करिब डेढ महिनामा उनी अन्तिम रूपमा छनोट भए ।

    सीरीजको छायांकन मुम्बई, देहरादुन तथा हरिद्वारलगायत स्थानमा गरिएको थियो । आफ्नो भूमिकासम्बन्धी छायांकन पूरा गर्न उनलाई झण्डै तीन महिना लागेको थियो । एक वर्षअघि छायांकन सम्पन्न भएको यो सीरीज अहिले अमेजन प्राइममार्फत दर्शकमाझ आएको हो र प्रारम्भिक प्रतिक्रिया पनि सकारात्मक पाइरहेको छ ।

    खत्रीले भने आफूलाई अब नेपाली फिल्म उद्योगमै थप काम गर्न मन रहेको कुरा व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा समाचार
    चर्चित