निर्देशन गर्दै अभिनेत्री प्रियंका कार्की

काठमाडौं- अभिनेत्री प्रियंका कार्की पनि अब निर्देशक बन्ने भएकी छिन् । छोटो समयमा नै फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री प्रियंका धेरै फिल्महरुमा विभिन्न भुमिकाहरु निभाइसकेकी छिन् ।

भर्खरै उनको प्रेम दिवस रिलिज भयो जसले त्यति चर्चा बटुल्न सकेन । प्रेम दिवसमा प्रियंकासंगै आयुष्मान देशराजले पनि अभिनय गरेका छन् । प्रियंकाले पहिलेदेखि नै फिल्म निमार्ण गर्ने सोचाई भएता पनि व्यस्तताका कारण उनले आफ्नो इच्छा पुरा गर्न पाएकी थिइनन् ।

प्रियंकाले ‘जस्ट एनदर लभस्टारी’ नामक वेब सिरिजको निर्माण तथा निर्देशन गर्न लागेकी हुन । फिल्ममा अहिलेको शहरिया युवापुस्तामा वेब सिरिजको राम्रो क्रेज भएका कारण प्रियंकाले यो फिल्मको वेब सिरिजको निर्माण र निर्देशन गर्न लागेकी हुन् ।

यो सिरिजले समलिंगी प्रेमलाई दर्शाउन खोजेको छ । प्रियंकाले आफ्नै कम्पनी पिंक लेबल पिक्चर्सबाट यसको निर्माण गर्न लागेकी हुन् । यस सिरिजको पहिलो एपिसोड आगामी गाइजात्रको छेकोमा १६ अगस्टमा सार्वजनिक हुनेछ । १५ देखि १८ मिनेटसम्मका आठवटा एपिसोड सुरुमा निर्माण गर्ने प्रियंकाको लक्ष्य छ । वेब सिरिजमा उनी र अभिनेत्री सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहनेछ ।

समलिंगी मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले सिरिज निर्माण गर्न लागेको प्रियंका बताउँछिन् । उनले वेब सिरिजको घोषणासँगै पोस्टर पनि सार्वजनिक गरेकी छन् ।