अंकित र साम्राज्ञीको रातो टीका निधारमा

काठमाडौं- दसैंको घटस्थापनाको दुई दिनअघि अर्थात असोज १० गते रिलिज हुने चलचित्र ‘रातो टिका निधारमा’ को शीर्ष गीत शुक्रवार सार्वजनिक भएको छ ।

झन्डै २२ वर्षअघि चलचित्र ‘अल्लारे’मा समावेश यो गीतलाई अहिले रिएरेन्ज र रिकेर्ड गर्दै नयाँ भर्सनमा ल्याइएको हो । पुरानो गीत उमेश पाण्डे र रमना श्रेष्ठले गाएका थिए भने नयाँ गीतलाई प्रमोद खरेल तथा मेलिना राईले गाएका छन् । गीतमा भने अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहसहित चलचित्रका अधिकांश कलाकारहरु फिचर्ड छन् ।

शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतका शब्दहरु शहदेव ढुंगानाले रचना गरेका हुन् भने नृत्य निर्देश्ँक बसन्त श्रेष्ठले यसलाई कोरियोग्राफी गरेका हुन् ।

गीतमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी आदि कलाकारले पनि आकर्षक नृत्य गरेका छन् ।

एए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माको लगानी छ । अशोक शर्माको निर्देशन रहेको फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।