मंसिर १३ गते प्रदर्शन हुने भयो ‘लभ यु हमेशा’

काठमाडौं- प्रेम कथानक चलचित्र ‘लभ यु हमेशा’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि कार्तिक २२ मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र अब मंसिर १३ मा दर्शकमाझ आउने छ ।

कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ,सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्रलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । यवन गुरुङको निर्माणमा बनेको चलचित्रले दार्जिलिङ र सिलगुढीका दर्शकको मन जितिरहेको जानकारी निर्माण पक्षले दिएको छ ।

बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ प्रदर्शनमा सहज बनाउनका लागि लभ यु हमेशा मंसिर १३ मा पुर्याइएको बताएका छन् । एकसाथ धेरै नेपाली चलचित्र प्रदर्शन गरिदा निर्मातालाई नै हानी हुने भएकाले आफूहरु दुई साता पर सरेको दावी उनको छ ।

निर्देशक प्रधानकै लेखन रहेको चलचित्रमा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल छन्दे, शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको चलचित्रको सिनेमाटोग्राफर शिब ढकाल हुन् । मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।

हेर्नुस् ट्रेलर