पुसमा प्रदर्शन हुँदैछ सुरक्षा र स्वरुपको सुस्केरा

काठमाडौं- यहि आउँदो मङ्सिर ६ मा ’च च हुई’ रिलिज गर्ने तयारीमा रहेका निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भएको केही वर्षअघिको चलचित्र ’सुस्केरा’ आउँदो पुस १८ मा रिलिज हुने भएको छ ।

यसअघि ‘लेटर’ बाट निर्देशनमा होमिएका साम्तेनले यो चलचित्रको छायांकन तीन वर्ष अगाडि नै सम्पन्न गरेका थिए ।
प्राविधिक कारणले रिलिजमा ढिलाई भएतापनि यसले चलचित्रको विषयवस्तुलाई असर नगर्ने निर्माण पक्षले बताएका छन् ।

चलचित्रमा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका रहेका छ । सुरक्षालाई नायिकाको रुपमा ब्रेक दिएको चलचित्रमात्र होइन , गायक रुपमा चिनिदै गरेका स्वरूपलाई ठुलो पर्दा नायक बनाउने श्रेय पनि यसै चलचित्रलाई जान्छ ।

एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको यस चलचित्रका लेखक पनि साम्तेन नै हुन् । यसमा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि अभिनय रहेको छ ।

‘सुस्केरा’ पूर्णत प्रेमकथामा आधारित चलचित्र भएको निर्देशक भुटियाले बताएका छन् ।

‘लभ भन्ने बितिकै जुन सोचाइ हाम्रो छ, त्यसभन्दा केही फरक गर्ने प्रयास चलचित्रमा गरिएको छ’ निर्देशक साम्तेनले भने । उनको भनाइ छ— ‘प्रेम प्राप्तिमा आउने भोगाइ नै चलचित्रको कथा हो ।’

छक्का पञ्जा– २ मार्फत पर्दामा झुल्किसकेका स्वरूपले सुस्केरा गर्नु अगाडी हिन्दी सिरियल ’गुमराह’ मा समेत काम गरिसकेका थिए । उनले चलचित्र खेल्न आएको प्रस्तावलाई नकार्न नसकेर अभिनयमा आएको बताए ।

‘मुम्बईमा बसेर सिकेको अभिनय र हिन्दी सिरियल ‘गुमराह’ मा अभिनय गर्दा पाएको अनुभवले नै मलाई यस चलचित्रमा अभिनेता बन्न उत्साहित भएको हुँ’ स्वरूपले भने ।

यो चलचित्रलाई काठमाडौंमा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।