logo
    आइतवार, साउन २४, २०८३
आइतवार, साउन २४, २०८३

मौसम विभागको चेतावनी: यी क्षेत्रमा धेरै भारी वर्षा, काठमाडौंसहित ४० जिल्ला बाढीको जोखिममा


  • बुधबार, साउन २०, २०८३
  • 114
    SHARES

    मौसम विभागको चेतावनी: यी क्षेत्रमा धेरै भारी वर्षा, काठमाडौंसहित ४० जिल्ला बाढीको जोखिममा

    काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधवार) देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको वर्षासँगै देशका ४० जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम औँल्याइएको छ ।



    महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, देशका अधिकांश पहाडी भूभाग र केही तराई क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

    रातिको समयमा पनि मौसममा खासै सुधार नआउने महाशाखाको अनुमान छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने, विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने र केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।

    काठमाडौं उपत्यकामा दिउँसोपछि वर्षा बढ्ने सम्भावना

    मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा बिहान हल्का वर्षा भए पनि दिउँसोपछि वर्षाको सम्भावना अझ बढ्ने देखिएको छ। दिनभर मौसम बदली रहने, बीच–बीचमा घाम देखिए पनि पुनः बदली भई हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनले बताए।

    ४० जिल्ला बाढीको जोखिममा

    बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित देशका ४० जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, तनहुँ, पाल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुर जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ । महाशाखाले नदी किनार, तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी तर्न वा जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा समाचार
    चर्चित