logo
    शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३

तुइन खोलामा पहिरो हटाउन दैनिक सडक बन्द गरिने, नारायणगढ-मुग्लिनमा २ महिना ट्राफिक प्रभावित हुने


  • शुक्रबार, साउन ८, २०८३
  • 28
    SHARES

    तुइन खोलामा पहिरो हटाउन दैनिक सडक बन्द गरिने, नारायणगढ-मुग्लिनमा २ महिना ट्राफिक प्रभावित हुने

    चितवन- देशकै व्यस्त तथा राजधानीलाई पूर्व–पश्चिमसँग जोड्ने प्रमुख सडकमार्ग नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा पहिरोको जोखिम न्यूनीकरण गर्न दैनिक केही घण्टा सवारी आवागमन रोक्ने तयारी गरिएको छ । जोखिमयुक्त ढिस्को काट्ने कार्य प्रभावकारी रूपमा अघि बढाउन सडक बन्द गरेर काम गर्न लागिएको हो ।



    डिभिजन सडक कार्यालय चितवनका अनुसार तुइन खोलामा वर्षेनी दोहोरिने पहिरोको समस्या समाधान गर्न निर्माण कम्पनीलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सवारी सञ्चालन रोक्ने समय निर्धारण गरिनेछ ।

    डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायबीच छलफल गरी सडक बन्द गर्ने समय टुंगो लगाइनेछ । प्रशासनको सहमतिपछि मात्रै निर्माण कार्य औपचारिक रूपमा प्रारम्भ हुनेछ । उनका अनुसार निर्माण कम्पनीले आवश्यक उपकरण तुइन खोलामा पु¥याइसकेको छ । हाल एक वटा एक्साभेटर र एक वटा लोडर तयारी अवस्थामा राखिएको छ ।

    दैनिक दुईदेखि तीन घण्टासम्म सवारी आवागमन रोक्न सके करिब दुई महिनाभित्र जोखिमपूर्ण ढिस्को हटाउन सकिने अनुमान गरिएको छ । इन्जिनियर घिमिरेले दिउँसोको समयमा सवारी चाप तुलनात्मक रूपमा कम हुने भएकाले सोही समयमा केही घण्टा सडक बन्द गर्न प्रशासनसँग अनुरोध गरिने बताए ।

    २२ करोडभन्दा बढीको ठेक्कामा पहिरो नियन्त्रणको काम

    तुइन खोला र नाम्सी क्षेत्रमा पहिरो नियन्त्रणका लागि बाबरी कन्स्ट्रक्सनले २२ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको छ । ठेक्का सम्झौताअनुसार अबको १० महिनाभित्र दुवै स्थानको काम सम्पन्न गर्नुपर्नेछ । पहिलो चरणमा ज्याक ह्याम्बरको प्रयोग गरी प्राविधिक टोलीले जोखिमपूर्ण ढिस्को काटेर तल झार्नेछ । त्यसपछि पहाडमा ड्रिल गरेर स्टिल रड (नेल) जडान गरिनेछ र बाहिरबाट स्टिल जाली लगाइनेछ। ‘नेलिङ’ प्रविधि भनिने यो विधिबाट पहिरोको जोखिम न्यूनीकरण गरिने सडक कार्यालयले जनाएको छ।

    गत वर्ष १०० घण्टाभन्दा बढी सडक अवरुद्ध

    तुइन खोला नारायणगढ–मुग्लिन सडक खण्डकै सबैभन्दा जोखिमयुक्त स्थानमध्ये एक हो। गत वर्ष असोज ३ र ७ गते लगातार पहिरो खस्दा सडक १०० घण्टाभन्दा बढी पूर्ण रूपमा अवरुद्ध भएको थियो। जसका कारण हजारौं यात्रु अलपत्र परेका थिए भने सयौं सवारीसाधन लामो समय रोकिएका थिए।

    सडक कार्यालयका अनुसार तुइन खोलाको जोखिमयुक्त ढिस्को १०५ मिटर अग्लो र १६५ मिटर लामो छ भने मुग्लिनतर्फको नाम्सी क्षेत्रमा रहेको अर्को ढिस्को ६० मिटर अग्लो र १०० मिटर लामो रहेको छ। केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तो कमजोर बनेपछि गत वर्षदेखि यस क्षेत्रमा पहिरोको जोखिम अत्यधिक बढेको हो।

    ४३ स्थान अझै पहिरोको जोखिममा

    नारायणगढ–मुग्लिन सडक खण्डमा हाल मध्यमदेखि उच्च जोखिमका ४३ स्थान रहेको सडक विभागले जनाएको छ । वर्षायाममा जुनसुकै बेला पहिरो खस्न सक्ने सम्भावना भएकाले सडक खुलाउन आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ ।

    हाल मुग्लिनमा एउटा लोडर तथा सेती दोभानमा लोडर, एक्साभेटर, ब्याक–हो लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर तयारी अवस्थामा राखिएको छ, ताकि पहिरो खस्नेबित्तिकै तत्काल सडक खुलाउन सकियोस् । सडक विभागले वर्षायाममा नारायणगढ–मुग्लिन सडक प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा समाचार
    चर्चित