सुनसरीमा सुरक्षा अवस्था सुधारोन्मुख, दुई पालिकामा मात्र निषेधाज्ञा जारी
विराटनगर– सुनसरीको देवानगञ्जमा अघिल्लो साता भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीमा सुरक्षा अवस्था सुधारोन्मुख जिल्लाका दुई स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरेको छ ।
उता, सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा पूर्ण रूपमा हटाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमवार जारी गरेको आदेशअनुसार देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।
प्रशासनका अनुसार सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले निषेधात्मक आदेश जारी गरिएको हो । निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, भेला तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधिमा रोक लगाइएको छ । सुरक्षा निकायलाई पनि आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको छ ।
देवानगञ्ज घटनापछि बढेको थियो तनाव
गत साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज क्षेत्रमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि स्थानीयस्तरमा तनाव उत्पन्न भएको थियो । घटनापछि विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए भने केही समयका लागि जनजीवनसमेत प्रभावित बनेको थियो ।
यसैबीच, नेपाल सरकार, स्थानीय प्रशासन तथा मृतक परिवारबीच विभिन्न चरणमा छलफल भएको थियो । पीडित परिवारलाई राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिवद्धतापछि स्थिति क्रमशः सहज बन्दै गएको प्रशासनले जनाएको छ । यद्यपि सम्भावित अप्रिय अवस्था रोक्न सुनसरी प्रशासनले थप सतर्कता अपनाउँदै निषेधाज्ञा जारी गरेको हो ।
प्रहरी तथा सशस्त्र प्रहरी बलले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएका छन् । प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सूचना नफैलाउन तथा कानुनको पालना गर्न आग्रह गरेको छ ।
सप्तरीमा निषेधाज्ञा हट्यो
यता, जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको उल्लेख छ । उक्त निर्णयअनुसार सोमवार बिहान १० बजेदेखि दुवै नगरपालिकामा लागू रहेका सबै निषेधात्मक आदेश स्वतः समाप्त भएका छन् ।
प्रशासनका अनुसार स्थानीय बासिन्दा, राजनीतिक दल, नागरिक समाज तथा सुरक्षा निकायबीचको समन्वयका कारण क्षेत्रको अवस्था सामान्य बनेको निष्कर्ष निकालिएको हो । बजार, यातायात, शैक्षिक संस्था तथा अन्य दैनिक गतिविधिहरू पनि नियमित रूपमा सञ्चालन हुन थालेका छन् ।
शान्ति र सद्भाव कायम राख्न प्रशासनको आग्रह
दुवै जिल्लाका प्रशासन कार्यालयले नागरिकलाई कानुनको पालना गर्न, कुनै पनि प्रकारका उक्साहटपूर्ण गतिविधिमा संलग्न नहुन तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । साथै, कुनै पनि शंकास्पद गतिविधि वा अप्रिय घटना देखिए तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।
प्रशासनले सुरक्षा अवस्थालाई निरन्तर अनुगमन गरिरहेको जनाउँदै आवश्यक परे थप निर्णय लिन सकिने स्पष्ट पारेको छ । सुनसरीमा निषेधाज्ञा लागू रहँदा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने सप्तरीमा भने जनजीवन पुनः सामान्य लयमा फर्किन थालेको प्रशासनको भनाइ छ ।
-
शनिवार तेस्रो इन्फा अवार्ड २०२६: उत्कृष्ट फिल्मदेखि अभिनेता-अभिनेत्रीसम्म, को बन्ला विजेता ?
-
नेपालमा पहिलो पटक सोलो पर्फमेन्स गर्न पाउँदा उत्साहित दीपा नारायण, भन्छिन्– ‘उदित जीले मेरो हौसला बढाउनु भएको छ’
-
डान्स गर्न नसकेपछि जन्मियो शाहरुखको विश्वप्रसिद्ध सिग्नेचर पोज
-
गृहमन्त्रीको जिब्रो लड्बढिँदा प्रियंकाको फिल्म ‘मास्टर्नी’ लाई फाइदा ?
-
रविको चेतावनी- ‘हामी चुक्यौँ भने फेरि भदौ २३ दोहोरिन सक्छ’
-
कमेन्ट सेक्सन बन्द गर्दै निर्मल पुर्जाको निधनको एक हप्तापछि नम्रताको श्रद्धाञ्जली– ‘अब शान्तिसँग विश्राम गर्नुहोस्’
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको घोषणा– ‘श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द’
-
कस्तो होला केशवको ‘लज्जावती’ डेब्यू ?
-
‘जोगिन्दर’ ले ल्याए गाईजात्रे झटारो ‘बालेन सरकार’
-
तीजको अवरसमा काठमाडौंमा दीपा नारायणको एकल गायन