कमेडी च्याम्पियनलाई छानिए २४ प्रतिस्पर्धि

काठमाडौं- स्ट्याण्ड अप कमेडीको पहिलो नेपाली रियालिटी शो ‘कमेडी च्याम्पियन’ प्रसारणका लागि तयार भएको छ । यस रियालिटी शोले अघिल्लो साता मात्रा डिजिटल अडिसनसंगै फिजिकल अडिसन गरेर टप २४ छनौट गरेको छ ।

डिजिटल अडिसनमा मोबाइल एप , वेबसाइट , सामाजिक सञ्जाल पेजसंगै रेडियो अडियो मार्फत सहभागी दुइ हजार प्रतियोगी मध्येबाट निर्णायक मण्डलले एक सय पाँच छनौट गरेको हो । गत असोज २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ छनौट भएका हुन् ।

उनीहरुले प्रत्यक्ष रुपमा निर्णायकमाँझ आफ्नो कला प्रस्तुत गरेका थिए । जसलाई वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई को निर्णायक मण्डलले छनौट गरेको थियो ।

२४ छनौट प्रतियोगी मध्ये २ भारतको दार्जीलिङ र असामका रहेका छन् । छनौट भएका २४ लाई कमेडी च्याम्पियन टिमले नै क्लोज क्याम्पमा राखेर मोनिटर गर्नेछ ।

उक्त प्रतियोगी मध्येबाट टप १५ लाई निर्णायकले नै छनौट गर्नेछन् भने त्यसपछि भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ ।

प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्नेछ । अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो बिशाल भण्डारीको निर्देशनमा तयार हुनेछ ।

पछिल्लो समय विदेशी फ्रेनचाइजको शोहरु बढ्दै गर्दा आफ्नोपन बोकेको कमेडी च्याम्पियनले दर्शकको माया र साथ पाउनेमा निर्देशक भण्डारी विश्वस्त छन् ।

शोलाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रीमा विश्वकर्माले होस्ट गर्ने्छिन् । शो ७५ प्रतिशत स्क्रिप्टेड हुनेछ, जसलाई शान बस्न्यातले लेख्नेछन् ।

विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । कार्यक्रम छिटै नै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । यसलाई रेडियो अडियोबाट पनि सुन्न सकिनेछ । वेलकम एड्भरटाईजीङको बजार व्यस्थापन रहेको शोको टेक्निकल पाटोलाई शन बिले हेर्नेछन् ।