राजधानीमा सुरु भयो एशिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता

काठमाडौं– प्रथम एशिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०२० को उद्घाटन शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको प्रतियोगिताको विशेष अतिथिमा विश्व क्योकुशिन कराँते महासंघ, जापानका अध्यक्ष कान्चो सेइसिन ईवासिता रहेका थिए ।

आयोजक संस्था नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघका अध्यक्ष अशोक कुमार श्रेष्ठको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा क्योकुशिन–सेईसिन काईकान कराँतेका फिफ्थ डान खेलाडी जनक बर्तौलाको विशेष डेमोस्ट्रेसन ढुंगालालाई पेटमा राखेर घनले फुटाउने तथा २५ वटा टायललाइ हातले एकैपटक फुटाएर देखाएका थिए । साथै विभिन्न कल्चरल नृत्यहरुको समेत विशेष प्रस्तुति रहेको थियो ।

समारोहमा स्वागत मन्तव्य गर्दै नेप्लीज फेसन होकी अध्यक्ष हेमा मानन्धरले यस प्रकारको प्रतियोगिताले गर्दा विश्वमा नेपालको नाम उच्च हुने र नेपाली खेल क्षेत्रको चौतर्फी विकासमा टेवा पुग्ने तथा नेपाल भ्रमण बर्ष २०२० को प्रबद्र्धन गर्न समेत मद्दत पुग्ने भन्दै सम्पूर्ण अतिथि लगायत खेलाडीहरुलाइ कार्यक्रममा स्वागत गरेकी थिइन् ।

प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले शुभकामना मन्तब्य दिंदै उक्त प्रतियोगिता आयोजना गरेकोमा खुलेर प्रसंसा गरेका थिए भने यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजनाले गर्दा खेलखुदको माध्यमले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्धत पुर्याउने भन्दै राष्ट्रिय खेलकुद परिषदले सक्दो सहयोग गर्ने बचन बद्धता समेत प्रकट गरे ।

नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजनामा फुल कन्ट्याक्ट कराँतेको विधामा यो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना भएको हो । प्रतियोगिता सातदोबाटो, ललितपुरस्थित कराँते कभर्ड हलमा सञ्चालन भईरहेको छ ।

उक्त प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, कम्पोडिया ,श्रीलंका, जापान, मोरक्को, स्पेन, फिलिपिन्स गरी विभिन्न १० राष्ट्रका खेलाडी तथा अफिसियलहरु गरी जम्मा ३ सय ५० जनाले सहभागिता जनाइरहेको आयोजक संस्थाले जनाएको छ ।

उक्त प्रतियोगितामा ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी मुनि तथा खुल्ला तौल समुहमा महिला तथा पुरुष गरी जम्मा १४ वटा तौल समुहमा खेल खेलाईने छ ।

प्रतियोगितामा विजेता खेलाडिहरुलाई नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा अहिले सम्मकै ठुलो धन राशीमा पुरस्कारहरु राखिएको उक्त प्रतियोगितामा खुल्ला तौल समुहको स्वर्ण पदक प्राप्त गर्ने महिला तथा पुरुष बिजेता खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठले जानकारी गराएका छन् ।

भिजिट नेपाल–२०२० लाई सफल बनाउने उद्देश्य रहेको उक्त खेलकुद प्रतियोगिताको ब्यवस्थापन एनएफएच Oe]G6\;ले गरेको छ ।

उक्त प्रतियोगिताको जुरीमा शिसन हिम्मत सिंह राजपुत, सेन्साइ प्रविण बस्नेत, सेन्साइ राहदेव पाते, मुख्य रेफ्रीमा सेन्साइ राजकृष्ण श्रेष्ठ , सेन्साई हिराकाजी देसार, फिरोज अलि रहेका छन् ।