एकल गायनमा दीपक खरेल

भक्तपुर– ‘यो कर्मभूमिको आँगनमा…’ गीत गाउंदै भक्तपुरको सल्लाघारीमा गायक दिपक खरेलले आफ्नो एकल गायन कार्यक्रमको थालनी गरे । उक्त गीतमा लिजेन्ड ब्याण्डले संगीतममा साथ दिएको थियो भने कोरसमा स्थानीय कलाकारहरुले साथ दिएका थिए । भक्तपुर सांगीतिक समाजले आयोजना गरेको दिपक खरेल साँझ २०७५ मा नेपाली संगीतका मेलोडी गायक खरेलले आफ्ना सुमधुर स्वर मा गीत पस्किएका थिए ।
गायक खरेलको गलाबाट ती आँखाहरुको उज्यालो मनपर्छ, बादल बनाइदेऊ, तिम्रो हर प्रश्नको जवाफ, पूर्णिमाको रात पनि औंसीको झैं, पर्तिछ्या गर मेरी मायालु, गरुँकी मीठो भूल जस्ता कालजयी गीतहरुको गुन्जनले उपस्थित दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।
कार्यक्रममा गीतकार चेतन कार्की, मुरारी सिग्देल, सुवासचन्द्र ढुङ्गेल, र्धुब मधिकर्मी लगायत दिपक जंगमजस्ता संगीतकारहरुको वाक्लो उपस्थिति थियो ।
गत वर्ष नारायण गोपाल स्मृति साँझ २०७४ को अपार सफलताबाट उत्साहित समाजले यसपटक जिउँदो इतिहास बोकेका बरिष्ठ गायक दिपक खरेलको एकल प्रस्तुति आयोजना गरेको हो । कार्यक्रममा गायक खरेललाई समाजका अध्यक्ष प्रविण शाहीले सम्मान गरेका थिए । गायक खरेलको सम्मानमा गायक शम्भोचरण राजभण्डारी, श्रृजल मधिकर्मी तथा रोशन धौभडेलले बादल बनाइदेऊ गीत प्रस्तुत गरेका थिए । त्यसक्रममा
गीतकार चेतन कार्कीले गायक खरेल उमेरमा साठी कटे पनि अझै संगीतमा जवान रहेको बिचार ब्यक्त गरे । हरि लम्सालद्वारा संगीतबद्ध मेरा यी हातहरुमा”गीतको बारेमा गीतकार सुबास चन्द्र ढुङ्गेलले उक्त गीतको मर्मलाई आत्मसात गर्न सकेको खण्डमा यो देश धेरै माथि उक्लिन सक्ने बिचार ब्यक्त गरे ।
प्रकाश सायमीद्वारा सञ्चालित उक्त कार्यक्रममा समाजका अध्यक्ष प्रवीण शाहीले कार्यक्रमले भक्तपुरको मात्र नभइ समस्त नेपाली संगीतको बिकासममा सबैको यादमा बस्ने खालको भब्य रुपमा सम्पन्न भएकोमा धन्यवादका साथै खुशी व्यक्त गरे । कार्यक्रमको अन्तिम चरणमा समाजका उपाध्यक्ष कपिल कसपालले मायाको चेक, श्रीहरि दाहालले जुनको उजेली, मानस राजले भाइरल भैदियो तथा अध्यक्ष शाहीले चिनेको छैन तिमीलाई तथा आज सबै सामु आए गीत प्रस्तुत गरेका थिए ।