‘हिजो आजका कुरा’अब ठूलो पर्दामा

काठमाडौं –  सन् १९९५ देखि २०१३ सम्म आम नेपालीको मन जित्न सफल कार्यक्रम हो हिजो आजका कुरा । हाँस्यव्यङ्गलाई मुख्य हतियार बनाएर यो ऐतिहासिक धारावाहिकले त्यतिबेला नेपाली समाजमा भएको सामाजिक, राजनितिक, आर्थिक तथा अन्य घटनालाई रोचक तरिकाले नेपालीहरु माझ प्रस्तुत गर्ने गर्दथ्यो । सानो पर्दाबाट दर्शकलाई हँसाउन सफल भएकोे हिजो आजका कुरा अब ठूलो पर्दामा प्रस्तुत हुनेछ ।
हिजो आजका कुरा काठमाडौंमा अवस्थित चार परिवारको कथामा आधारित छ । अहिले नेपालीको दैनिकीमा विदेश जाने लहर थपिएपछि हुने उत्साह, उमङ्ग र सँगै आउने कठिनाइहरुलाई हाँस्यास्पद रुपमा प्रस्तुत गर्नेछ । यो चलचित्रले अहिले विदेशमा बस्ने नेपालीको जीवनशैली, सामाजिक जीवनमा पर्ने वाध्यता, कठिनाई र परिवारको दबावलाई जीवन्त रुपमा प्रस्तुत गर्ने छ । यसमा आजभोलि विदेशिने लहरको राम्रो र नराम्रो पक्षलाई देखाइन्छ । हिजो आजका कुरा हाँस्यास्पद र भावनात्मक तरिकाले प्रस्तुत हुनेछ ।
पन्त फिल्म प्रोडक्सनद्वारा निमार्ण हुने यस चलचित्रलाई साकार पन्तले निर्देशन गर्न लागेका छन र यस चलचित्रमा मूख्य भुमिकामा वरिष्ठ कलाकार सन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, हास्य कलाकारहरु रमेश अधिकारी,सविन शाक्य, नवकलाकार विनायक कुइकेल, अनुष्का अधिकारीलगायतका कलाकार रहेका छन् । यस चलचित्रको सह निर्मातामा बैकुण्ठप्रसाद घिमीरे (अशोक) रहेको छ भने कथावस्तु – सन्तोष पन्त, साकार पन्त , लेखक  -सन्दीप किस्ना , निर्देशक – साकार पन्त  सम्पादन – बिनय कन्साकार  छायाङ्कन – रवि सायमी रहेको छ ।