रहेनन् देव आनन्दका छोरा सुनील आनन्द
लण्डन- भारतीय चलचित्र उद्योगका सदाबहार अभिनेता स्वर्गीय देव आनन्दका एकमात्र छोरा, अभिनेता तथा निर्देशक सुनील आनन्दको ७० वर्षको उमेरमा निधन भएको छ । उनको जुलाई २६ मा बेलायतको लण्डनमा हृदयाघातका कारण निधन भएको परिवारले पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
परिवारका तर्फबाट उनकी भतिजी जिना नराङले विज्ञप्ति जारी गर्दै सुनील आनन्दको निधन भएको पुष्टि गरेकी छन् । उनले शोकको यस घडीमा परिवारको गोपनीयताको सम्मान गरिदिन सबैसँग आग्रह गरेकी छन् ।
सन् १९५६ मा स्विट्जरल्यान्डको ज्युरिखमा जन्मिएका सुनील आनन्द बलिउडका चर्चित अभिनेता देव आनन्द र अभिनेत्री कल्पना कार्तिकका एकमात्र सन्तान हुन् । उनले अमेरिकाको वासिङ्टन डी.सी.स्थित अमेरिकन युनिभर्सिटीबाट व्यवसाय प्रशासन अध्ययन गरेका थिए । पछि उनी पारिवारिक चलचित्र संस्था नवकेतन फिल्म्ससँग आवद्ध भए ।
सुनील आनन्दले सन् १९८४ मा आफ्नै पिता देव आनन्दद्वारा निर्देशित चलचित्र ‘आनन्द और आनन्द’ मार्फत बलिउडमा अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि उनले ‘कार थीफ’, ‘मैं तेरे लिए’ लगायत केही चलचित्रमा अभिनय गरे । उनले सन् २००१ मा ‘मास्टर’फिल्म निर्देशन गर्दै निर्देशकका रूपमा पनि काम गरेका थिए ।
यद्यपि उनले आफ्नो पिता देव आनन्दजस्तो व्यावसायिक सफलता हासिल गर्न सकेनन्, भारतीय फिल्म उद्योगमा अभिनेता, निर्देशक तथा निर्माता रूपमा उनले आफ्नो छुट्टै योगदान दिएका थिए। पछिल्ला वर्षहरूमा उनी चलचित्र निर्माण तथा नवकेतन फिल्म्सको व्यवस्थापनमा सक्रिय थिए ।
देव आनन्द भारतीय फिल्मका सबैभन्दा प्रभावशाली कलाकारमध्ये एक मानिन्छन् । सन् २०११ मा लन्डनमै उनको पनि हृदयाघातका कारण निधन भएको थियो । करिब १५ वर्षपछि छोरा सुनील आनन्दको पनि सोही शहरमा निधन हुनुलाई धेरैले भावुक संयोगका रूपमा लिएका छन् ।
सुनील आनन्दको निधनसँगै भारतीय फिल्म उद्योगले अर्को अनुभवी चलचित्रकर्मी गुमाएको छ । कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
-
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सरकारको अपिल
-
रहेनन् देव आनन्दका छोरा सुनील आनन्द
-
निर्णयको आधार विश्वास: इन्फा अवार्ड २०२६ को स्वतन्त्र निर्णायक मण्डलले कसरी छनोट गर्दैछ उत्कृष्ट नेपाली फिल्म ?
-
देवानगञ्ज गोलीकाण्डः निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै मानव अधिकारकर्मीको संयुक्त अपील
-
सुनसरी घटनामा रास्वपाको गम्भीर ध्यानाकर्षण, सभापति लामिछाने भन्छन्– ‘निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही हुनुपर्छ’
-
गायक यम बरालको स्वास्थ्यमा उल्लेखनीय सुधार, चाँडै अस्पतालबाट हुँदैछन् डिस्चार्ज
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
-
९ लाख ठगीको आरोपमा हास्य कलाकार नारद खतिवडा पक्राउ
-
अष्ट्रेलियामा पहिलो पटक ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
‘द भ्वाइस किड्स सिजन–५’ को लाइभ राउण्डमा सुवाशना, गायनसँगै बहुआयामिक प्रतिभाले बनाउँदै पहिचान