logo
    बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३

अशान्त बन्दै तराई: सिरहा–सुनसरीमा हिंसा, एकको मृत्यु, कर्फ्यू विस्तार, गृहमन्त्री सुनसरी जाँदै


  • बिहिबार, साउन १४, २०८३
  • 38
    SHARES

    अशान्त बन्दै तराई: सिरहा–सुनसरीमा हिंसा, एकको मृत्यु, कर्फ्यू विस्तार, गृहमन्त्री सुनसरी जाँदै

    काठमाडौं– कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा उत्पन्न तनावले बिहीवार थप उग्र रूप लिएको छ । सिरहा, धनुषा र सुनसरीमा प्रदर्शन, झडप, आगजनी, गोली प्रहार तथा कर्फ्यूका घटनाले तराई क्षेत्रको सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको छ ।



    सिरहाको गोलबजारमा बिहीवार भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले एक जनाको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गर्दै मृतकको पहिचान तथा मृत्युको कारणबारे थप विवरण संकलन भइरहेको जानकारी दिएका छन् ।

    यसैबीच, सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गणेश यादवको निधन भएको जानकारी प्राप्त भएको हो । घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रशासनका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ । सम्भावित थप अप्रिय घटना हुन नदिन सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

    प्रदर्शन हिंसात्मक बनेपछि गोलबजारमा पार्किङमा राखिएका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको थियो । यस्तै, गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा पनि आगजनी गरिएको छ । स्थानीय दमकल र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रहरीमाथि आक्रमण, डीएसपी घाइते

    प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ । ढुंगा लागेर डीएसपी पाल घाइते भएका छन् । उनको ओठमा गम्भीर चोट लागेको र टाँका लगाएर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटनाका क्रममा दुई जनालाई गोली लागेको पुष्टि भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज अधिकारीका अनुसार गोली कसले चलाएको भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । गोली लागेका घाइतेमध्ये विकास ठाकुरको अवस्था गम्भीर रहेकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि अन्यत्र पठाइएको छ ।

    सिरहामा कर्फ्यू, सेना परिचालन

    सुरक्षा अवस्था बिग्रिएपछि स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षा व्यवस्थामा परिचालन गरिएको छ । प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, संयमता अपनाउन तथा सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ ।

    जनकपुरधाममा पनि अनिश्चितकालीन कर्फ्यू

    सिरहाको घटनाको प्रभाव धनुषासम्म फैलिएको छ। जनकपुरधाममा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीवार दिउँसो ३स्३० बजेदेखि जनकपुरधाम तथा आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ । आदेश उल्लंघन गर्नेलाई कानुनअनुसार कारवाही गरिने चेतावनी पनि दिइएको छ ।

    सुनसरीको तनाव समाधानका लागि गृहमन्त्री घटनास्थलतर्फ

    यसैबीच, सुनसरीको देवानगञ्ज क्षेत्रमा देखिएको तनाव नियन्त्रणका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गरेपछि उनी घटनास्थलतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिएका छन् ।
    प्रधानमन्त्रीसँगको परामर्शपछि स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्दै गृहमन्त्री प्रभावित क्षेत्रमा पुगेर सुरक्षा अवस्था, पीडित परिवार तथा स्थानीय प्रशासनसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    रास्वपाको आकस्मिक बैठक, गृहमन्त्रीको भूमिकामाथि प्रश्न

    सुनसरी र मधेशका घटनाक्रमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट निर्वाचित पार्टीका सांसदहरूको आकस्मिक बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् । बैठकमा मधेश प्रदेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । एक सांसदका अनुसार मधेश क्षेत्रमा बिग्रँदै गएको सुरक्षा अवस्थाबारे सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको भन्दै गृहमन्त्रीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरिएको छ ।

    संयमता अपनाउन प्रशासनको आग्रह

    सुरक्षा निकायले सिरहा, धनुषा र सुनसरीमा उच्च सतर्कता अपनाएको छ । प्रशासनले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र अफवाहमा विश्वास नगर्न, साम्प्रदायिक सद्भाव कायम राख्न तथा कानुन हातमा नलिन सर्वसाधारणसँग आग्रह गरेको छ । तराईका विभिन्न जिल्लामा बढ्दो तनावका कारण जनजीवन प्रभावित बनेको छ भने सुरक्षा निकायले स्थिति सामान्य बनाउन प्रयास जारी राखेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा समाचार
    चर्चित