logo
    शनिबार, साउन १६, २०८३
शनिबार, साउन १६, २०८३

‘पेन्सन पट्टा’: धनभन्दा ठूलो त्याग र अव्यक्त प्रेमको मार्मिक कथा


  • शुक्रबार, साउन १५, २०८३
  • 62
    SHARES

    ‘पेन्सन पट्टा’:  धनभन्दा ठूलो त्याग र अव्यक्त प्रेमको मार्मिक कथा

    काठमाडौं- ‘पेन्सन पट्टा’: धनभन्दा ठूलो त्यागको कथा, अव्यक्त प्रेमको गहिरो अनुभूति लाहुरे समाजको परिवेश, मौलिक गुरुङ संस्कृति र मानवीय संवेदनालाई पर्दामा उतार्दै भदौ २६ मा आउँदैछ ‘पेन्सन पट्टा’ नेपाली फिल्म अहिले भावुक कथाहरूको दौरमा छ । तर सबै फिल्मले दर्शकलाई केवल रुवाउने वा मनोरञ्जन दिने उद्देश्य मात्र बोकेका हुँदैनन् ।



    केही फिल्म यस्ता पनि हुन्छन्, जसले दर्शकलाई आफ्नो जीवन, सम्बन्ध र मूल्यबोधबारे फेरि एकपटक सोच्न बाध्य बनाउँछन् । निर्देशक माओत्से गुरुङको नयाँ फिल्म ‘पेन्सन पट्टा’ त्यस्तै एउटा फिल्म बन्ने संकेत देखिएको छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्म ले धन, सम्पत्ति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर त्याग, अव्यक्त प्रेम, मानवीय सम्बन्ध र आत्मिक सन्तुष्टिको कथा भन्छ ।

    निर्देशक गुरुङका अनुसार फिल्मको मूल सन्देश यही हो, जीवनमा सबै कुरा प्राप्त गर्नु मात्र सफलता होइन, कहिलेकाहीँ आफूले पाउन सक्ने कुरा पनि अरूका लागि छोडिदिन सक्नु नै सबैभन्दा ठूलो विजय हो । फिल्मको कथा लाहुरे परिवारको परिवेशमा आधारित छ । ब्रिटिस आर्मी परिवारसँग आफू पनि जोडिएको अनुभव भएकाले निर्देशकले त्यस समाजको जीवन, भावना र सम्बन्धलाई नजिकबाट बुझेका छन् । त्यसैले ‘पेन्सन पट्टा’ केवल एउटा काल्पनिक कथा नभई समाजको वास्तविक जीवनबाट जन्मिएको संवेदनशील कथाको सिनेमिक रूप हो ।

    निर्देशक गुरुङका अनुसार फिल्मको सबैभन्दा बलियो पक्ष अव्यक्त प्रेम हो । यस्तो प्रेम, जुन मनभित्र त हुन्छ तर परिस्थितिले कहिल्यै शब्दमा व्यक्त हुन सक्दैन । अहिले प्रेमको परिभाषा बदलिँदै गइरहेको समयमा यो फिल्मले प्रेमको अर्को आयामलाई दर्शकमाझ प्रस्तुत गर्ने विश्वास उनको छ । फिल्मले केवल प्रेमको कथा मात्र सुनाउँदैन, यसले एउटा गम्भीर प्रश्न पनि उठाउँछ, धन, सम्पत्ति र प्रतिष्ठाभन्दा ठूलो कुरा आखिर के हो? निर्देशकको उत्तर स्पष्ट छ, आत्माको सन्तुष्टि । कसैका लागि केही त्याग गर्न सक्नु, आफ्नो हिस्साको कुरा पनि अरूका लागि छोडिदिन सक्नु र अरूको हितमा सोच्न सक्नु नै मानिसको सबैभन्दा ठूलो उपलब्धि हो । यही भावनालाई फिल्मले केन्द्रमा राखेको छ ।

    ‘पेन्सन पट्टा’ बनाउने सोच निर्देशक गुरुङमा आजको होइन। उनी यस विषयमा १२–१५ वर्षदेखि काम गर्ने सपना बोकेर बसेका थिए। लामो समयको अध्ययन, अनुभव र परिपक्वतापछि त्यो सपना अहिले पर्दामा आएको छ । यसअघि ‘दयारानी’ निर्देशन गरेर प्रशंसा पाएका गुरुङ यसपटक पनि भीडको पछि लाग्नेभन्दा आफ्नै शैलीमा कथा भन्न रुचाउँछन् । उनी अहिलेको बजारमा सफल भइरहेका ट्रेन्डको सम्मान गर्छन्, तर आफू भने कन्टेन्टमा केन्द्रित भएर फरक कथा सुनाउन चाहेको बताउँछन् ।

    फिल्मको सार्वजनिक भइसकेको मौलिक गीतले पनि दर्शकको ध्यान तानेको छ । गुरुङ समुदायमा प्रचलित थिएटर शैलीको नृत्यलाई आधुनिक फिल्मको स्वरूपमा प्रस्तुत गरिएको गीतले गण्डकी प्रदेश मात्र होइन, देशका अन्य भागका दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ । मौलिक संगीत, सांस्कृतिक प्रस्तुति र जीवन्त दृश्यहरूले फिल्मप्रतिको उत्सुकता थप बढाएको छ । कलाकारहरूको टोली पनि बलियो छ । फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, माया गुरुङ, विश्वास गुरुङ र लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ ।

    माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको कथा तथा निर्देशन स्वयं माओत्से गुरुङले गरेका हुन् । छायांकन सुशन प्रजापति, सम्पादन नेमिश श्रेष्ठ र केर डी. कोइच लिनुच, कलर ग्रेडिङ राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिन्क साउन्ड नवीन श्रेष्ठ, ब्याकग्राउन्ड स्कोर रोहित शाक्य, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन्। निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ हुन् ।

    अहिले नेपाली फिल्ममा दर्शकको मन छुने कथाको खोजी भइरहेको बेला ‘पेन्सन पट्टा’ ले केवल भावुकता मात्र होइन, मानवीय मूल्य, त्याग, संस्कार र सम्बन्धको गहिरो अर्थ दर्शकमाझ पुर्‍याउने प्रयास गरेको देखिन्छ । सायद यही कारणले निर्देशक गुरुङ दर्शक हलबाट फर्कँदा एउटा प्रश्न बोकेर जाऊन् भन्ने चाहन्छन्, ‘जीवनमा सबैभन्दा ठूलो सम्पत्ति वास्तवमा के हो ?’ यदि त्यो प्रश्न दर्शकको मनमा बस्न सफल भयो भने ‘पेन्सन पट्टा’ एउटा सफल फिल्म मात्र होइन, लामो समयसम्म सम्झिने अनुभव बन्न सक्छ ।

    प्रतिकृया दिनुहोस
    सम्बन्धित समाचार
    ताजा समाचार
    चर्चित